काठमाडौं–नबिल बैंकले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले विश्व वातावरण दिवस अवसरमा दिगो घर कर्जा योजना सार्वजनिक गरेको हो। नबिल बैंक सञ्चालक समिति अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले उक्त कर्जा योजना शुभारम्भ गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यबारे प्रकाश पारे। बैंकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा सुरुआती प्रयास भए पनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्त्वबारे आफ्नो धारणा राखे।
नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्री प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकलाई लक्षित गरिएको छ। दिगो आवासमा लगानी गर्न चाहने ग्राहकलाई सस्तो ब्याजदर र सेवाशुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरणमैत्री अभ्यास अपनाउन प्रोत्साहन गर्ने अपेक्षा राखिएको छ।
वातावरणमैत्री तथा किफायती ऊर्जा सामग्री प्रयोग गरेर घर निर्माण गर्न चाहने ग्राहकले योजनाअन्तर्गत आवास कर्जा लिन सक्नेछन्। नबिल दिगो घर कर्जा ग्राहकले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन् भने स्थिर ब्याजदर चाहने ग्राहकले ७ वर्षका लागि वार्षिक १०.४९ प्रतिशतमै प्राप्त गर्न सक्नेछन्।
कर्जा प्राप्त गर्न ग्राहकले निर्माण भइरहेका घरको हकमा नक्सापास पेस गर्नुपर्नेछ भने उक्त नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहोर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामग्री सिएफएल, एलइडी लाइटलगायत सामग्र अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान रहेको छ।


