काठमाडौँ: अनमोल केसी अभिनित चलचित्र ‘जेरी अन टप’ ले १० करोड रुपैयाँभन्दा बढी ग्रस गर्दै बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ। चलचित्र विकास बोर्डका अनुसार प्रदर्शनको १६ दिनसम्म फिल्मले ३ लाख ३३ हजार टिकट बिक्री गरी १० करोड ५१ लाख ४८ हजार ८०३ रुपैयाँ बढी कमाएको हो।
यससँगै १० करोडभन्दा बढी कमाउने अनमोलको यो पहिलो फिल्म बनेको छ।
सुयोग गुरुङ निर्देशित यो पर्वतीय रोम्यान्टिक एड्भेन्चर फिल्ममा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ र केदार घिमिरेको पनि अभिनय रहेको छ। फिल्मले २०८२ सालको सबैभन्दा सफल चलचित्रहरूको सूचीमा आफ्नो स्थान बनाएको छ।
यससँगै बोर्डले दशैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आएका अन्य फिल्महरूको पनि आधिकारिक कलेक्सन सार्वजनिक गरेको छ।
सन्तोष सेन निर्देशित ‘बलिदान’ ले देशभरबाट ५ करोड १० लाख रुपैयाँ ग्रस कमाएको छ भने दीपेन्द्र के खनालको निर्देशनमा बनेको ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख रुपैयाँ पुगेको बोर्डले जनाएको छ। त्यस्तै, मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले हालसम्म ४ करोड १५ लाख रुपैयाँ ग्रस कमाएको छ।







