काठमाडौँ- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न मंगलबार स्वीकृति दिएको हो।
प्रतिकित्ता २३६.९१ मा कम्पनीले जारी पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो। यसअनुसार १ करोड २० लाख कित्ता शेयर सर्वसाधारणको लागि जारी गर्नका लागि कम्पनीले स्वीकृति पाएको जानकारी दिइएको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड छ। आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ।
उक्त अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ। यसै गरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ। कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ। तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रु. ८ रुपैयाँ ६९ पैसा रहेको छ। प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ।


