काठमाडौँ: अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्कहरू चलाएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले प्रतिबन्ध लगाएका हुन्।
प्रतिबन्ध लगाइएका देशका संस्था र व्यक्तिहरू केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स(आईआरजीसी)का लागि काम गर्ने गरेको आरोप उनको छ।
आईआरजीसी धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा इरानको लडाईं गर्ने शक्ति हो। यसले घरेलु संकट र विदेशी खतराहरूको सामना गर्दा इस्लामिक राष्ट्रको हितको रक्षा गर्दछ।
अमेरिकी विदेश विभागले जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिबन्धहरूसँग सम्बन्धित जानकारी दिएको छ। यस अनुसार, सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघले इरानमाथि लगाएको प्रतिबन्ध पुन: लागू गर्ने समर्थनमा यो कारबाही गरिएको हो।
आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौतापछि इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइएका थिए, तर यस वर्षको सेप्टेम्बरमा, १० वर्षपछि, संयुक्त राष्ट्रसंघले फेरि एक पटक व्यापक आर्थिक र सैन्य प्रतिबन्धहरू लगाएको छ।


