काठमाडौँ: चीनमा १ करोड ७० लाखभन्दा बढी मानिसले छेपारो र कछुवा प्रजातिका जनावर पाल्ने गरेका छन्। चीनमा पछिल्लो समय विदेशी जनावर (एक्जोटिक पेट) पाल्ने प्रचलन तीव्र रूपमा बढ्दै गएपछि यस्ता जनावर पाल्नेहरुको संङ्ख्या बढेको हो।

यसले चीनमा नयाँ र द्रुत रूपमा विस्तार भइरहेको एक विशेष बजारको विकासलाई थप गति दिएको छ। हाल चीनमा कुकुर वा बिरालोबाहेक अन्य विदेशी प्रजातिका छेपारो र कछुवा प्रजातिका जनावर पाल्ने १ करोड ७० लाखभन्दा बढी मानिस रहेको तथ्यांकले देखाएको छ। यसकै कारण एक्जोटिक पेट बजारको मूल्य हाल १.४ अर्ब अमेरिकी डलर पुगेको छ। केन्द्रीय चीनको साङच्यू क्षेत्रमा यस्तो माग पूरा गर्न विदेशी जनावरको प्रजनन बढिरहेको छ। यस्ता जनावरमध्ये केही संरक्षित सूचीमा परेकाले प्रजननका लागि विशेष अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ।

त्यसैअनुसार, हान चु नामक एक प्रजनकले अफ्रिकी प्रजातिको लेपर्ड टोइरटस (चितुवे कछुवा) पालन–प्रजनन गर्दै आएका छन्, जुन चीनमा संरक्षित प्रजाति मा पर्छ। यस कछुवाको मुल्य २,८०० देखि ४,२०० अमेरिकी डलर सम्म पर्छ, र किन्न आउनेको संख्या धेरै नै छ।

विशेषज्ञहरूको भनाइमा, विदेशी जनावर मात्र नभई विभिन्न चराचुरुङ्गी र सरीसृपहरूले पनि मानिसहरूलाई भावनात्मक साथ दिइरहेका छन्।

आईआई मिडिया रिसर्चका अनुसार यस वर्षको अन्त्यसम्म चीनको समग्र पेट उद्योगको बजार आकार ११३ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ।