काठमाडौँ: बंगलादेशी लेखिका तसरिमा नसरिन लामो समयदेखि आफ्नो उपन्यास ‘लज्जा’का कारण निर्वासित जीवन बिताइरहेकी छ्न्। सन् १९९३ मा प्रकाशित उक्त उपन्यासमा जातीय सद्भाव खल्बलिएपछि त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने लेखेकी छन्।
उक्त उपन्यासमा सन् १९९२को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बङ्गलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषय समेटिएको छ। उक्त घटना बंगलादेशलाई माया गर्ने सबैका लागि लज्जाको विषय भएको बताएकी छन्। उक्त उपन्यासको नेपाली अनुवाद पनि लोकप्रिय छ।
तर लेखेकै कारण उनलाई उपन्यास प्रकाशित भएको पाँच महिनामा तत्कालीन सरकारले साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा प्रतिबन्धित गरेको थियो भने उनलाई त्यहाँका कट्टरपन्थी धार्मिक सङ्गठनले तीन पटकसम्म फतवा जारी (मृत्युदण्डको घोषणा) गरेको थियो।
सुरक्षा चुनौती र निर्वासनको सजायपछि सन् १९९४ मा उनी बंगलादेश छोडेर युरोप र अमेरिकामा एक दशकभन्दा बढीको बसाइँपछि २००४ यता भारतमा बस्दै आएकी छन्।
हसीनाबाटै पीडित उनै लेखिका नसरिनले बंगलादेशको अदालतले हसीनालाई मृत्युदण्डको सजाय सुनाएपछि उनकै पक्षमा बोलेकी छन्। सामाजिक सञ्जालमा उनले हसीनाको कठिन समयमा आफू उनको साथमा उभिएको बताएकी छन्। उनले न्यायको नाममा हसीनालाई मृत्युदण्ड सुनाइएको घटनाको विरोध गर्दै भनेकी छन्, ‘म शेख हसीनाको कठिन समयमा उनको साथमा उभिएकी छु। न्यायको नाममा उनलाई मृत्युदण्ड सुनाइएको प्रक्रियाको कडा विरोध गर्छु।यसबाट मैले के सिकेँ? अन्याय–अत्याचार जहाँ भए पनि विरोध गर। शत्रुमाथि अन्याय भए पनि—त्यस अन्यायविरुद्ध आवाज उठाऊ।’
उनले भनेकी छन्– शेख हसीनाले अगणित मस्जिद–मदरसाहरू अर्थात् ‘जिहादी कारखाना’ निर्माण गरेर देशको क्षति गरे पनि, मदरसाको डिग्रीलाई विश्वविद्यालयको डिग्री बराबर बनाइ देशको शिक्षाब्यवस्था नष्ट गरे पनि, वाजमार्फत युवाहरूको मस्तिष्कधुने अनुमति महिला–विरोधी जिहादीहरूलाई दिए पनि, जिहादी आतङ्ककारीहरू स्वतन्त्र चिन्तकहरूलाई निर्दयतापूर्वक हत्या गरिरहेको थाहा हुँदाहुँदै पनि कुनै स्वतंत्र चिन्तकको सुरक्षाको व्यवस्था नगरी चरम क्रूरता देखाए पनि, हिन्दूमाथि अत्याचार गर्ने जिहादीहरूको विरुद्धमा कारबाही नगरी, हिन्दूहरूको सुरक्षासमेत नदिए पनि,मरणासन्न आमाको छेउमा रहन निर्वासनबाट फर्किएको तीन महिनापछि १९९९ को जनवरीमा मेरो विरुद्ध धार्मिक भावनामा चोट पुर्याएको भनेर मुद्दा दायर गरी मलाई फेरि देशनिकाला गरे पनि, मरणासन्न बाबुलाई अन्तिम पटक हेर्न मेरा सयौँ अनुरोध हुँदाहुँदै पनि मलाई देश भित्र प्रवेश गर्न नदिए पनि, मेरो बंगलादेशी पासपोर्ट नवीकरण नगरे पनि, विदेशको पासपोर्टमा बंगलादेशी भिसा नदिए पनि, ‘आनंद पुरस्कार’ प्राप्त मेरो आत्मकथा ‘आमार मेयबेला’ को छपाइ, भण्डारण र बिक्री प्रतिबन्धित गरे पनि,म मेरो पावर अफ अटर्नीका कागजातहरू दूतावासका कर्मचारीहरूले उनको आदेशमा प्रमाणीकरण नगरी मेरो आर्थिक ढाँचा भत्काइदिए पनि, बंगलादेश प्रतिदिनको उपसम्पादकीय पृष्ठमा उनको नाममा लेखिएका २/३ वटा खुला पत्रमा मैले आफ्नो दु:ख सुनाउँदा उनले बेवास्ता गरे पनि, म भने शेख हसीनाको कठिन समयमा उनको पक्षमा उभिएँ।
उनीमाथि ‘न्याय’को नाममा गरिएको प्रहसन र मृत्युदण्डको कठोर विरोध गरेँ। यसबाट के सिकियो? अन्याय जुनसुकै पक्षबाट आए पनि विरोध गर। यहाँसम्म कि यदि तिम्रो शत्रुमाथि पनि अन्याय भएको छ भने, त्यस अन्यायको विरुद्ध बोल्न डराएनौ भने मात्र तिमी सत्यका पक्षमा उभिएको ठहर्छ।
प्रकाशित: २०८२ मङ्सिर ३ गते बुधबार ११:२९