काठमाडौँ: सामाजिक सञ्जालमा युवापुस्तामाझ लोकप्रिय तथा नेपाली राजनीतिको समेत केन्द्र बनेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले समेत प्रचार गरेको हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को डेब्यु निर्देशन रहेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ फ्लप भएको छ। कुनै समय नेपाली सिनेमाका चर्चित अनुहारहरू गणेश उप्रेती र रमेश उप्रेतीलाई क्रमश: ९ र ७ वर्षपछि पर्दामा कमब्याक गराइए पनि फिल्मले दर्शक तान्न नसकेको हो।
फिल्मको शूभमुहूर्तमा बालेनपत्नी सविना काफ्ले उपस्थित भएकी थिइन् भने बालेन स्वयं पनि फिल्मको प्रचारमा प्रयोग गरिएका थिए। समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर ‘झरीपछिको इन्द्रेणी’को गीत ‘फसायो लमीले’ गीत सुरुमा बालेनकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो। तर अपेक्षाअनुसार गीत नचलेपछि उक्त च्यानलबाट गीत हटाएर ओएसआर डिजिटलमा सारिएको थियो।
यस्तै फिल्ममा बालेनले गाएको र्याप पनि प्रयोग भएको छ। आम बुवाको संघर्ष, भावना र जिम्मेवारीलाई समेटेर फिल्मको शीर्षगीत ‘आम नेपाली बुवा’ बालेनले गाएका थिए भने शब्द पनि उनैले लेखेका थिए। उक्त गीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ को दुई लाइन पनि समावेश गरिएको थियो।
पुराना चर्चित कलाकार, युवापुस्तामाझ भाइरल मेयर बालेनलगायतलाई समेटे पनि फिल्म व्यापारका हिसाबले सुपर फ्लप भएको छ।
गत पुस ४ गतेदेखि रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले १० दिनमा ६२ लाख ६९ हजार ४७५ रुपैयाँको मात्रै व्यापार गरेको छ। यस अवधिमा १९ हजार ७९३ वटा मात्रै टिकट बिक्री भएका छन्।
शीर्षस्थानमा परान
सुरुदेखि राम्रो व्यापार गर्दै गएको परान शनिबारसम्मको बक्स अफिस रिपोर्टअनुसार शीर्षस्थानमै छ। दीपकप्रसाद आचार्यले निर्देशन गरेको तथा उद्यमी शेखर गोल्छाको लगानी रहेको उक्त फिल्मले हालसम्म ६ लाख २७ हजार ५८५ वटा टिकट बिक्री गर्दै १७ करोड ६३ लाख ३६ हजार रुपैयाँ कमाएको छ।
दोस्रो स्थानमा झरीपछिको इन्द्रेणी रहेकोमा हर्षले २८ लाख ७८ हजार रुपैयाँ संकलन गरेको छ। अभिमन्युले २१ लाख ५० हजार, पीआरले ६ लाख ७५ हजार र लोकन्तीले ४ लाख १२ हजार रुपैयाँ संकलन गर्दा चिराग लाख क्लबमा समेत प्रवेश गर्न सकेको छैन।


