काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनावी गीत सार्वजनिक भएको छ। पुराना दलहरूबाट कुनै परिवर्तन नभएको भावको ‘रास्वपालाई सुम्पिदिऊँ देश अब’ शीर्षकको गीत सार्वजनिक भएको हो।
गीतमा ओमप्रसाद प्रसाईं र रञ्जना भुजेलको स्वर रहेको छ भने गीतको शब्द गायिका रञ्जना र संगीत गायक प्रसाईँले गरेका छन्। रञ्जना अफसियल च्यानलमार्फत सार्वजनिक गीतमा बालबालिकालाई पनि गीत गाउन प्रयोग गरिएको छ। जबकि निर्वाचन आचारसंहिताअनुसार दलको चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग निषेधित छ।
गीतको एरेन्ज रामकृष्ण थापाले गरेका छन्। रेकर्डिङ विनोद महताराले गरेका हुन् भने मिक्सिङ–मास्टरिङ नरेन्द्र बियोगीको रहेको छ। गीत वेभ (वेभ) स्टुडियोमा रेकर्ड गरिएको हो। भिडियो पक्षमा क्यामेरामा अविनाश श्रेष्ठ, सम्पादन तथा कलरमा प्रगति सुब्बा रहेका छन्। पोस्ट प्रोडक्सन अविनावन मिडिया, न्यूरोड, काठमाडौँले गरेको छ।
गीतले परम्परागत राजनीतिप्रति जनताको बढ्दो असन्तुष्टि र वैकल्पिक राजनीतिक शक्तिप्रति बढ्दो आकर्षण रहेकाले अबको विकल्प रास्वपा भएको सन्देश दिएको छ।
यसैगरी पछिल्लो समय आगामी निर्वाचनमा रास्वपामा प्रवेश गर्ने चर्चा चलिरहेका बहालवाल सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेललाई विशेष धन्यवाद दिइएको छ। खरेल रास्वपा प्रवेश गर्ने चर्चाकाबिच रास्वपाको चुनावी गीतमा विशेष धन्यवाद दिइनुले उनी रास्वपा प्रवेश गर्ने गसिफलाई थप बल दिएको छ। उनी रास्वपा निकट मानिन्छन्।


