काठमाडौं। दक्षिण अमेरिकी मुलुक भेनजुएला अमेरिकाको नियन्त्रणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः बढ्न थालेको छ।
भेनजुएलालाई नियन्त्रणमा लिनअघि कच्चा तेलको भाउ ब्यारेलको ६० डलर आसपासमा रहेकोमा पछिल्ला केही दिनमा बढ्न थालेको छ। मंगलबार कच्चा तेलको भाउ बढेर ब्यारेलको ६४ डलर पुगेको छ।
हाल पंहेलो धातु सुनको भाउले दिनहुँ नयाँ रेकर्ड कायम गरिरहेको छ। यस्तै अमेरिकी डलरको मूल्य पनि बढीरहेको छ। यसले महंगी बढाउने संभावना देखिएको छ।
कच्चा तेलको भाउ घटेर ब्यारेलको ५६.७४ डलरसम्म झरेको थियो।
ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ६३.९० डलर कायम भएको छ। मुरवान क्रुडमा ब्यारेलको ६३.८५ डलरमा कारोबार भएको छ।
यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको मूल्य २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो।
एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।
यदि ट्रम्प प्रशासन युक्रेन द्वन्द्व अन्त्य गर्न सफल भयो र रूसी प्रतिबन्धहरू हटाइयो भने २०२६ मा तेल बजारहरू अत्यधिक आपूर्ति हुने अनुमान गरिएको छ।
यद्यपि, यदि रूसी प्रतिबन्धहरू जारी रहेमा इरान र भेनेजुएलाबाट तेलको मात्रा घटेसँगै बजारहरू सन्तुलित स्थितिमा पुग्न सक्छन्।
भेनजुलएलाबाट ठूलो परिमाण तेल आपूर्ति गर्नै योजना अमेरिकाको छ। यद्यपि, त्यहाँबाट दैनिक १० लाख ब्यारेल मात्र उत्पादन गर्न सकिने देखाएको छ।
यता भारतका सर्वाधिक धनी मुकेश अम्बानीले रसियन तेलको विकल्पमा भेनेजुएलाबाट कच्चा तेल किन्ने योजना बनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
यसको असर विश्व तेल बजारमा पर्न सक्ने अनुमान गरिएको छ। रुस र युक्रेन युद्ध सुरु भएपछि विश्व बजारमा कच्चा तेलको भाउ आकासिएर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। त्यसपछि निरन्तर घट्दै आएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। २०२५ को मार्चमा कच्चा तेलको भाउ घटेर ५६ डलरमा आएको थियो।


