काठमाडौँः नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल र भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर सञ्जय मलहोत्राबीच भेटवार्ता भएको छ। मुम्बईस्थित आरबीआईको मुख्यालयमा माघ ५ गते सम्पन्न भेटमा नेपाल–भारतबीचको अन्तरदेशीय विद्युतीय भुक्तानी कारोबार तथा दुईपक्षीय हितका विषयमा छलफल भएको छ।
भेटका क्रममा नेपाली नागरिकले भारत भ्रमण गर्दा क्युआर कोडमार्फत हुने भुक्तानीलाई थप सहजीकरण गर्ने विषयमा विशेष छलफल भएको जनाइएको छ। साथै मौद्रिक नीति, तरलता व्यवस्थापन, विदेशी विनिमय व्यवस्थापन, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सुपरिवेक्षण र सूचना प्रविधि क्षेत्रमा आरबीआईले अवलम्बन गरेका असल नीतिगत अभ्यासबारे विचार आदानप्रदान भएको थियो।
त्यसैगरी, वित्तीय क्षेत्रका उदीयमान तथा समसामयिक विषय र दुईपक्षीय सहयोग विस्तारका सम्भावनाबारे समेत छलफल भएको छ। भेटमा नेपाल राष्ट्र बैंकका विभिन्न विभागका कार्यकारी निर्देशकहरूले आरबीआईसँग सहकार्य गर्न सकिने विषयमा धारणा राखेका थिए। भारत भ्रमणकै क्रममा गभर्नर पौडेलले माघ ६ गते गुजरातको अहमदाबादस्थित ‘इन्टरनेसनल फाइनान्सियल सर्भिस सेन्टर्स अथोरिटी’ का उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए।
उक्त भेटमा गिफ्ट सिटी अवधारणा, लगानी प्रवद्र्धनका नीति र नेपाल राष्ट्र बैंकसँग सहकार्यका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित: २०८२ माघ ११ गते आईतबार ०५:०९