काठमाडौँ: आगामी फ्रेब्रअरी १४ मा पोखरामा लोकप्रिय पप गायक सुगम पोखरेलको लााइभ कन्सर्ट हुने भएको छ।
पोखरास्थित लेभर्ल्स क्लबमा हुने कन्सर्टमा सुगम पोखरेल आफ्नो ब्याण्ड ‘बाजागाजा’सहित मञ्चमा उत्रिने छन्। आयोजकका अनुसार ‘हरेक प्रेमिल मनका लागि’ भन्ने भावनासहित पोखरेली संगीत पारखीलाई प्रेम र धुनमा रमाउने अवसर दिन कार्यक्रम आयोजना गरिएको हो।
प्रेम, संगीत र सम्झना पोखराको हावामा मिसाउने उद्देश्यका साथ कन्सर्टको शीर्षक ‘मेरो एउटा साथी छ’ राखिएको छ, जुन उनकै चर्चित गीतको भाव र मर्मबाट प्रेरित हो। कन्सर्टको शीर्षक पोखरेलकै गीत ‘मेरो दुखमा रोइदिने, मेरो खुसीमा हाँसीदिने, सबैभन्दा माथि छ, मेरो एउटा साथी छ’को थिमबाट लिइएको हो।
चाँजो मेन मिडियाको आयोजनामा हुन लागेको कन्सर्टमा अर्का चर्चित गायक कमल खत्रीले पनि पोखरेललाई दिने छन्। कन्सर्टको सुरुआत खत्रीका लोकप्रिय गीतबाट हुने र त्यसपछि सुगम पोखरेलले आफ्ना सदाबहार तथा नयाँ गीतमार्फत दर्शकलाई झुमाउने कार्यक्रम रहेको कन्सर्टका परिकल्पनाकार तथा सञ्चारकर्मी सञ्जोक बस्यालले बताए।
मैत्रीभाव, प्रेम र एकताको सन्देश बोकेका गीतमार्फत सबै उमेर समूहका दर्शकलाई एउटै मञ्चमा जोड्ने लक्ष्यसहित कन्सर्ट आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। नेपाली पप संगीतलाई मुख्यधारमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएका सुगम पोखरेलले ‘मेरो संसार तिमी नै हौ’, ‘फेरि त्यो दिन सम्झिन चाहन्न’, ‘सम्झनामा नआऊ तिमी’, ‘साथी’, ‘कति दिन बिते’, ‘जिन्दगी नै भन्दिनँ’, ‘जाँदैछ छु टाढा’, लगायत दर्जनौँ गीत लोकप्रिय छन्।







