चीनले आफ्ना केही ठूला बीमा कम्पनीहरूमा पुँजी थप गर्न अर्बौं युआन बराबरको विशेष सरकारी ऋणपत्र जारी गर्ने तयारी गरेको छ। बीमा क्षेत्रलाई सुदृढ बनाउँदै साना र जोखिमपूर्ण कम्पनीहरूलाई ठूला कम्पनीमा गाभ्ने सरकारी योजनालाई सघाउन यो कदम चाल्न लागिएको हो।
ब्लुमबर्गका अनुसार चीन सरकारले विशेष ऋणपत्रमार्फत करिब २०० अर्ब युआन (२९ अर्ब डलर) संकलन गर्ने लक्ष्य राखेको छ। यो रकम सरकारी स्वामित्वका ठूला बीमा कम्पनीहरू— चाइना लाइफ इन्स्योरेन्स ग्रुप, पिपुल्स इन्स्योरेन्स कम्पनी ग्रुप अफ चाइना र चाइना टाइपिङ इन्स्योरेन्स ग्रुपमा लगानी गरिनेछ।
चीनले बीमा क्षेत्रको पुँजी वृद्धि गर्न पहिलो पटक विशेष सरकारी ऋणपत्रको बाटो रोजेको हो। यसअघि सरकारले ठूला सरकारी बैंकहरूको पुँजी बढाउन मात्र यस्तो संयन्त्र प्रयोग गर्दै आएको थियो। यो योजना आगामी मार्च (पहिलो त्रैमासिक) भित्रै सार्वजनिक हुन सक्ने सम्भावना छ।
बीमा कम्पनीहरूका साथै सरकारले ‘इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना’ र ‘एग्रिकल्चरल बैंक अफ चाइना’ मा पनि थप ३०० अर्ब युआन लगानी गर्ने योजना बनाएको छ। गत वर्ष पनि बैंक अफ चाइना र बैंक अफ कम्युनिकेसन जस्ता ठूला बैंकहरूका लागि यस्तै ऋणपत्रमार्फत पुँजी व्यवस्थापन गरिएको थियो।
यस विषयमा चीनको राष्ट्रिय वित्तीय नियामक निकाय र सम्बन्धित कम्पनीहरूले आधिकारिक प्रतिक्रिया भने दिएका छैनन्।
ठूला बीमा कम्पनीहरूलाई आर्थिक रूपमा बलियो बनाएर सरकारले जोखिममा रहेका साना बीमा कम्पनीहरूको व्यवस्थापनमा उनीहरूको सहयोग लिन चाहेको बुझिएको छ। साथै, गत वर्ष चिनियाँ सेयर बजार अस्थिर हुँदा सरकारको आग्रहमा ठूलो परिमाणमा सेयर खरिद गरेका बीमा कम्पनीहरूको वित्तीय सन्तुलन मिलाउन पनि यो पुँजी आवश्यक देखिएको हो।
नोभेम्बरमा सार्वजनिक एक रिपोर्ट अनुसार, तथ्याङ्क सार्वजनिक गरेका १७३ बीमा कम्पनीहरूमध्ये दुई-तिहाइभन्दा बढीको ‘सल्भेन्सी रेसियो’ (भुक्तानी क्षमता सूचक) अघिल्लो त्रैमासिकको तुलनामा घटेको छ। न्यून ब्याजदर र बढ्दो प्रतिस्पर्धाका कारण यो क्षेत्रको नाफामा संकुचन आएको छ।
सरकारी नीति अनुसार ठूला बीमा कम्पनीहरूले आफ्नो नयाँ प्रिमियमको ३० प्रतिशत रकम आन्तरिक सेयर बजारमा लगानी गर्नुपर्ने व्यवस्था छ। यसबाट आगामी तीन वर्षमा सेयर बजारमा करिब १.२ ट्रिलियन युआन थप लगानी भित्रिने अनुमान गरिएको छ। हालैका वर्षहरूमा चिनियाँ सेयर बजारमा सुधार देखिन थालेको छ र चाइना लाइफ जस्ता कम्पनीहरूको सेयर मूल्य १० वर्षयताकै उच्च विन्दु आसपास पुगेको छ।
अर्कोतर्फ, चिनियाँ बैंकहरू पनि नाफा घट्ने समस्यासँग जुधिरहेका छन्। अर्थव्यवस्थालाई उकास्न सरकारले सस्तो ब्याजदरमा ऋण प्रवाह गर्न निर्देशन दिएकाले बैंकहरूको ‘नेट इन्ट्रेस्ट मार्जिन’ (खुद ब्याज आम्दानी) मा दबाब परेको छ। ठूला सरकारी बैंकहरूसँग नियामकले तोकेको भन्दा बढी पुँजी भए तापनि थप पुँजीको ‘बफर’ भएमा उनीहरूले धेरै ऋण लगानी गर्न र खराब कर्जाको जोखिम व्यवस्थापन गर्न सक्नेछन्।


