एजेन्सी। भारतमा विदेशी विनिमय सञ्चितीले नयाँ कीर्तिमान कायम गरेको छ। विदेशी विनिमय सञ्चिती बढेर सात खर्ब नौ अर्ब ४१ करोड डलर पुगेको भारतीय केन्द्रीय बैंक (आरबीआई)ले जनाएको छ।
यसअघि गत वर्ष सात खर्ब पाँच अर्ब डलर पुगेको थियो। एक सातामा आठ अर्ब डलर विदेशी मुद्रा बढेपछि सञ्चितीमा नयाँ रेकर्ड कायम भएको आरबीआईले जानकारी दिएको छ।
केन्द्रीय बैंकले घरेलु बजारमा रुपैयाँको तरलता प्रवाह गर्न विदेशी मुद्रा स्वाप सञ्चालन गरेपछि सञ्चिती बढेको हो। यस्तै सुन होल्डिङको मूल्य बढेपछि विगत दुई हप्तामा विदेशी मुद्रा सञ्चिति तीव्र गतिमा बढेको छ।
केन्द्रीय बैंकको सुन होल्डिङको मूल्य अहिले एक खर्ब २३ अर्ब डलर पुगेको छ। जुन हप्ताभरि ५.६ अर्ब डलर बढेको छ।
केन्द्रीय बैंकले रेकर्ड न्यून बिन्दुमा कारोबार भइरहेको भारुलाई जोगाउन डलर बेचेर सक्रिय रूपमा हस्तक्षेप गरिरहेको छ। यद्यपि, सुन जस्ता सम्पत्तिको बढ्दो मूल्य र दीर्घकालीन विदेशी मुद्रा स्वापका कारण डलर बिक्रीको प्रभावलाई कम गरिएको छ।
आरबीआईले विदेशी मुद्रा बजारमा हुने विकासक्रमलाई नजिकबाट निगरानी गर्छ। बैंकले व्यवस्थित अवस्था कायम राख्न आवश्यक पर्दा हस्तक्षेप गर्छ। यस्ता कार्यहरू रुपैयाँमा अत्यधिक अस्थिरतालाई सीमित गर्ने उद्देश्यले गरिन्छ।
(दि इकोनोमिक टाइम्सको सहयोगमा)


