नयाँदिल्ली: भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आफ्नो नवौँ बजेट प्रस्तुत गरेकी छन्। बजेट भाषणका क्रममा उनले वायदा कारोबारमा लाग्ने सेक्युरिटी ट्रान्जेक्सन ट्याक्स (एसटीटी) बढाउने घोषणा गरेकी छन्।
आजै कुनै सम्पत्ति (जस्तै सेयर, कमोडिटी, विदेशी मुद्रा आदि) भविष्यको कुनै निश्चित मितिमा, पहिले नै तय गरिएको मूल्यमा किन्ने वा बेच्ने सम्झौता गरेर गरिने कारोबार वायदा कारोबार हो।
अर्थमन्त्री सीतारमणले बजेटमा फ्युचर एन्ड अप्सन कारोबारमा लाग्ने एसटीटी दर ०.०२ प्रतिशतबाट बढाएर ०.०५ प्रतिशत पुर्याइने घोषणा गरेकी छन्। वित्तमन्त्रीको यो घोषणापछि सेयर बजारमा भारी गिरावट देखिएको छ।
केन्द्रीय बजेट २०२६–२७ प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आयकर कानून सन् २०२६ अप्रिल १ देखि लागू हुने जानकारी दिएकी छन्। उनले आयकरसम्बन्धी नियमहरू अझ सरल बनाइने र ती चाँडै नोटिफाइ गरिने बताइन्।
उनका अनुसार आयकर फारमलाई सरल बनाइनेछ। साथै, परिमार्जित (रिभाइज) आयकर विवरण मामुली शुल्कसहित ३१ मार्चसम्म बुझाउन सकिने व्यवस्था गरिनेछ।
वित्तमन्त्रीले ‘अरेन्ज इकोनोमी’ अर्थात् सिर्जनात्मक अर्थतन्त्रका लागि पनि महत्वपूर्ण घोषणा गरेकी छन्। उनले भारतको एनिमेसन, भिजुअल इफेक्ट्स, गेमिङ र कमिक्स (एभीजीसी) क्षेत्र तीव्र गतिमा बढिरहेको उद्योग भएको उल्लेख गर्दै सन् २०३० सम्म यस क्षेत्रमा करिब २० लाख पेशेवर जनशक्तिको आवश्यकता पर्ने बताइन्।
उनले इन्डियन इन्स्टिच्युट अफ क्रिएटिभ टेक्नोलोजिज, मुम्बईमार्फत १५ हजार माध्यमिक विद्यालय र ५०० कलेजमा एभीजीसी कन्टेन्ट क्रिएटर ल्याब स्थापना गर्न सहयोग गर्ने प्रस्ताव राखेकी छन्।
अरेन्ज इकोनोमी वा क्रिएटिभ इकोनोमी भन्नाले व्यक्तिगत सिर्जनशीलता, सीप र बौद्धिक सम्पत्तिमा आधारित क्षेत्रहरूलाई जनाइन्छ। यसअन्तर्गत कला, डिजाइन, फेसन, फिल्म, संगीत र डिजिटल कन्टेन्ट जस्ता क्षेत्रहरू पर्दछन्।
वित्तमन्त्रीले बजेट भाषणमा अन्य धेरै घोषणाहरू पनि गरेकी छन्। उनले तीनवटा अखिल भारतीय आयुर्वेद संस्थान निर्माण गरिने जानकारी दिइन्। जामनगरमा आयुर्वेद अनुसन्धान केन्द्र स्थापना गरिनेछ। प्रत्येक जिल्लामा एउटा गर्ल्स होस्टल निर्माण गर्ने प्रस्ताव गरिएको छ। कृषि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरिनेछ। साथै, ‘भारत विस्ता’ नामक उपकरण विभिन्न भाषामा उपलब्ध गराइने बजेटमा उल्लेख गरिएको छ।


