विद्यार्थी आन्दोलनको १८ महिनापछि बंगलादेशमा बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ। प्रारम्भिक रुझानहरूमा बंगलादेश नेशनलिस्ट पार्टी अर्थात् बीएनपी ठूलो जिततर्फ अघि बढिरहेको छ। संसदको २३१ सीटमध्ये सरकार बनाउन १५१ सिट चाहिन्छ। यो आँकडा बीएनपीले शुक्रबारसम्म कटाइसकेकाले उसले सरकारले चलाउने निश्चित छ।
देशमा पहिलो पटक राष्ट्रिय संसदको निर्वाचन र जनमत संग्रह १२ फेब्रुअरी, बिहीबार एकै दिन आयोजना भयो। बंगलादेशमा करिब १२.७७ करोड मतदाता छन् जसमा करिब आधा महिलाहरू थिए। कुल २,०२८ उम्मेदवार र ५० राजनीतिक दलहरूले निर्वाचनमा भाग लिएका थिए। अन्तिम नतिजा आउने क्रममा रहँदा तत्कालिन प्रधानमन्त्री शेख हसिना भने भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। विद्यार्थी आन्दोलनमा भएको दमन र हत्याको अभियोगमा उनलाई बंगलादेशको अदालतले मृत्युदण्ड सुनाइसकेको छ। निर्वाचनमा उनी नेतृत्वको अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त दल चुनावमा भाग लिन पाएन।
अहिलेसम्म बीएनपीले बहुमत कटाइसकेकाले उक्त दलले सरकार चलाउने निश्चित भएको छ जसअनुसार बीएनपी अध्यक्ष तारिक रहमान बंगलादेशको प्रधानमन्त्री बन्दैछन्।
तारिकले पहिलो पटक संसदीय निर्वाचनमा बंगलादेशको प्रमुख राजनीतिक दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) को नेतृत्व गरेका हुन्। यसका साथै उनले आफैंले पनि पहिलो पटक यस निर्वाचनमा भाग लिए।
निर्वाचनभन्दा केही महिनाअघि मात्र आफ्नी आमा खालिदा जियाको निधनपछि तारिकले पार्टीको कमान सम्हालेका थिए। पार्टीको सांगठनिक कार्यक्रम र सम्पूर्ण निर्वाचन अभियान उनको रेखदेखमा नै चलेको छ। तारिकका समर्थकहरूले उनलाई नै बंगलादेशको सम्भावित प्रधानमन्त्री बताइरहेका छन्।
बीएनपीले पनि तारिकलाई पार्टीको एकमात्र नेताका रूपमा प्रस्तुत गरिरहेको छ। यद्यपि आलोचकहरूले विगतमा रहमानमाथि लागेका भ्रष्टाचारका आरोप र शैक्षिक योग्यतामाथि प्रश्न उठाइरहेका छन्।
रहमान र उनको पार्टी बीएनपीले भ्रष्टाचारका तमाम आरोपहरूलाई खारेज गर्दै यसलाई अघिल्लो अवामी लिग सरकारको कुप्रचार भनेका छन्। रहमानले करिब १७ वर्षसम्म लण्डनमा राजनीतिक शरण लिएका थिए।
पूर्व राष्ट्रपति जियाउर रहमानले बीएनपी गठन गरेका थिए र यसको सञ्चालन पूर्व प्रधानमन्त्री खालिदा जियाले निकै सफलताका साथ गरेकी थिइन्। उनले पार्टीको कमान सम्हालेपछि छोटो समयमै सत्तासम्म पुर्याएकी थिइन्। अब सम्पूर्ण जिम्मेवारी तारिक रहमानको काँधमा छ।
तारिक रहमान अवामी लिगको शासनकालमा पार्टीलाई एकजुट राख्न सफल भएका छन्। अवामी लिगमाथि प्रतिबन्ध लागेपछि बीएनपीको मित्र रहेको जमात-ए-इस्लामी नै उसको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रूपमा उदायो।
बंगलादेशमा सन् २००७ मा सेना समर्थित कामचलाउ सरकारको कार्यकालमा तारिक रहमानलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो। करिब १८ महिना जेलमा बसेपछि सेप्टेम्बर २००८ मा रिहा भएपछि उनी परिवारसहित लण्डन गएका थिए।
तारिक त्यहाँबाट करिब १७ वर्षपछि गत वर्ष डिसेम्बरमा ढाका फर्केका थिए। खालिदा जियाको अवस्था झन् बिग्रिएपछि तारिक रहमान २६ डिसेम्बरमा ढाका फर्के। १८ महिना जेल र १७ वर्ष लण्डनमा बिताएपछि यसैमार्फत बंगलादेशको राजनीतिमा तारिक रहमानको पुनरागमन भयो।
यसको केही दिनपछि नै ३० डिसेम्बरमा खालिदा जियाको निधन भयो। त्यसको १० दिनपछि यस वर्ष ९ जनवरीमा बीएनपीको राष्ट्रिय स्थायी समितिले औपचारिक रूपमा तारिकलाई पार्टीको अध्यक्ष चयन गर्यो।
यद्यपि, खालिदा जियालाई सन् २०१८ मा भ्रष्टाचारको एक मुद्दामा सजाय भएदेखि नै तारिक लण्डनमा बसेर कार्यवाहक अध्यक्षका रूपमा आफ्नो जिम्मेवारी निभाइरहेका थिए। त्यसभन्दा अघि सन् २००२ मा खालिदा जियाले उनलाई पार्टीको वरिष्ठ संयुक्त महासचिव मनोनीत गरेकी थिइन्। सात वर्षपछि २००९ मा बीएनपीको पाँचौं राष्ट्रिय सम्मेलनमा उनलाई वरिष्ठ उपाध्यक्ष मनोनीत गरिएको थियो।
बंगलादेशका पहिलो सैन्य शासक र पूर्व राष्ट्रपति जियाउर रहमान र पूर्व प्रधानमन्त्री खालिदा जियाका जेठा छोरा तारिकको जन्म २० नोभेम्बर १९६५ मा भएको थियो। बीएनपीको वेबसाइटमा उनको यही जन्ममिति दर्ता छ। तर चुनावी शपथपत्रमा मिति यही भए पनि जन्म वर्ष १९६८ बताइएको छ।
बीएनपीको वेबसाइटमा भनिएको छ कि ढाकाको बीएएफ शाहीन कलेजमा प्रारम्भिक शिक्षापछि तारिकले ढाका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा भर्ना लिएका थिए। तर उनले त्यहाँ आफ्नो पढाइ पूरा गरे वा गरेनन् भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।
अर्कोतर्फ, निर्वाचन आयोगलाई दिएको हलफनामामा तारिकले आफ्नो शैक्षिक योग्यता उच्च माध्यमिक अर्थात् १२ कक्षा बताएका छन्। बीएनपीबाट प्राप्त जानकारी अनुसार, मुक्ति युद्धका बेला अन्य धेरै सैन्य अधिकारीका परिवारसँगै जियाउर रहमानको परिवारलाई पनि बन्दी बनाइएको थियो। उनका दुवै छोरा तारिक रहमान र अराफात रहमान (स्वर्गीय) पनि बन्दी थिए।
पार्टीको वेबसाइटमा उपलब्ध जानकारी अनुसार, तारिकले सैन्य शासक हुसेन मोहम्मद इरशाद विरुद्धको आन्दोलनमा पनि भाग लिएका थिए र सन् १९८८ मा बगुडा जिल्ला बीएनपीको गावतली उपजिला इकाईको सदस्यका रूपमा औपचारिक रूपमा पार्टीमा सामेल भएका थिए।
यद्यपि पार्टीका धेरै नेता र अध्यक्ष सल्लाहकार परिषदका केही सदस्यहरूले दलगत राजनीतिमा तारिकको यात्रा १९९१ को संसदीय निर्वाचनबाट सुरु भएको बताएका छन्। खालिदाले त्यसबेला पाँच सिटमा निर्वाचन लडेकी थिइन्। उनको रेखदेखको जिम्मेवारी तारिकसँगै थियो।
तर सन् २००१ को संसदीय निर्वाचनदेखि पार्टीको राजनीतिमा उनको पकड बलियो हुन थाल्यो। त्यस वर्ष बीएनपी नेतृत्वको चार दलीय गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त गरेको थियो। बीएनपी सरकारको त्यही कार्यकालमा ‘हावा भवन’ को मुद्दामा तारिक रहमान र उनका निकटवर्तीहरूमाथि भ्रष्टाचारका आरोप लागेका थिए जुन पछि देशव्यापी बहसको विषय बन्यो।
राजनीतिक विश्लेषक प्रोफेसर महबूब उल्लाह बीबीसी बाङ्लासँग भन्छन्, ‘सन् २००१ को संसदीय निर्वाचनभन्दा अघि निर्वाचन कार्यालयका रूपमा प्रयोग गर्न र चुनावी रणनीति बनाउन हावा भवनको प्रयोग गरिएको थियो। यसमा तारिक रहमानले महत्त्वपूर्ण भूमिका निभाएका थिए।’
उनका अनुसार, त्यस निर्वाचनमा जितेर बीएनपी नेतृत्वको सरकार सत्तामा आएको थियो। तर हावा भवनमा बीएनपीको कब्जा कायमै रह्यो र यसले विवाद निम्त्यायो। सन् २००१ को निर्वाचनको समयदेखि नै पार्टीमा तारिक रहमानको सक्रियता बढ्दै गयो। सन् २००२ जुन २२ मा वरिष्ठ संयुक्त महासचिवको पद सिर्जना गरी उनलाई त्यसमा मनोनीत गरियो।
राजनीतिक विश्लेषक र अनुसन्धानकर्ता मोहिउद्दीन अहमद बीबीसी बाङ्लासँग भन्छन्, ‘यही नै पार्टीको राजनीतिमा उनको ठूलो छलाङ थियो। जिया परिवारको सदस्य भएकै कारण उनलाई सो पद सुम्पिएको थियो। पछि उनको वरिपरि एक समानान्तर नेतृत्व बन्यो।’
भ्रष्टाचारका आरोप र विवाद
यस पटकको निर्वाचनमा बीएनपीको प्रतिस्पर्धा आफ्नो पूर्व सहयोगी जमात-ए-इस्लामीसँग थियो। यस्तो अवस्थामा पार्टीका नीति निर्माताहरू चाहन्थे कि आम जनताको नजरमा रहमानको छवि ‘मुक्ति युद्ध र उदार लोकतन्त्र’ को समर्थक एकमात्र नेताका रूपमा स्थापित होस्। यसअघि बीएनपी नेतृत्वको गठबन्धन सरकारको कार्यकाल (२००१-०६) का दौरान पार्टी अध्यक्षको बनानीस्थित कार्यालय निकै विवादमा परेको थियो। त्यसलाई ‘हावा भवन’ को नामले पनि चिनिन्छ।
यो कुराको चर्चा भइरह्यो कि २००१ मा बीएनपी सत्तामा आएपछि प्रधानमन्त्री खालिदा जिया सत्तामा भए पनि रहमानको नेतृत्वमा हावा भवन सत्ताको समानान्तर केन्द्र बनेको थियो। रहमान र उनका निकटवर्तीहरूमाथि भ्रष्टाचारका आरोप लाग्न थाले। यद्यपि उनी र उनको पार्टीले यसलाई राजनीतिक विरोधीहरूको कुप्रचार भन्दै तमाम आरोपहरूलाई सिरेबाटै खारेज गर्दै आएका छन्।
बीएनपी सरकारको यही कार्यकालमा सन् २००४ मा विपक्षी दलकी नेता शेख हसिनाको ढाकामा भएको र्यालीमा ग्रेनेड हमला भएपछि अवामी लिगले तारिक रहमान र हावा भवनलाई नै जिम्मेवार ठहर्याएको थियो। पछि अवामी लिगको कार्यकालमा यस मुद्दामा तारिक रहमानलाई अभियुक्त बनाइयो र उनलाई जन्मकैदको सजाय सुनाइयो।
अवामी लिग सरकारको पतनपछि तारिकले यस्ता मुद्दाहरूबाट राहत पाएका छन्। बीएनपीले त पहिलेदेखि नै यी आरोपहरूलाई खारेज गर्दै आएको छ। तारिक रहमानको चुनावी हलफनामामा कुल ७७ वटा मुद्दाको जानकारी दिइएको छ। अन्तरिम सरकार सत्तामा रहेको समयमा उनलाई आफ्ना विरुद्धका सबै मुद्दाहरूमा कि त सफाइ दिइएको छ वा उनी रिहा भएका छन्।
बंगलादेशमा बीएनपी नेतृत्वको गठबन्धन सरकारको कार्यकालको अन्तिम दिनहरूमा ठूलो मात्रामा भएको राजनीतिक हिंसा र मुठभेडपछि जनवरी २००७ मा सेना समर्थित कामचलाउ सरकारले सत्ता सम्हालेको थियो।
तारिक रहमानले त्यही समयमा भ्रष्टाचारको आरोपमा १८ महिना जेलमा बिताउनुपरेको थियो। उनलाई पक्राउ गरेपछि बुलेटप्रुफ ज्याकेट र हेलमेट लगाइदिएर ढाकाको एउटा अदालतमा पेश गरिएको थियो। त्यसपछि सोधपुछका लागि उनलाई रिमाण्डमा लिइयो। यद्यपि, त्यसको मात्र ६ महिनाअघिसम्म प्रधानमन्त्रीको छोराका रूपमा पार्टी र प्रशासनमा उनको निकै सम्मान र पकड थियो।
पार्टीले हिरासतमा रहँदा उनीमाथि भएको अत्याचारको मुद्दालाई जोडतोडले उठाएको थियो। रहमानको आरोप छ कि पक्राउ परेपछि उनलाई निकै यातना दिइएको थियो।
विश्लेषक मोहिउद्दीन अहमद भन्छन्, ‘मैले मेरो अनुसन्धानका क्रममा विभिन्न पक्षका मानिसहरूसँगको कुराकानीबाट थाहा पाएँ कि तारिक रहमानलाई वास्तवमै यातना दिइएको थियो। त्यसको उद्देश्य उनकी आमा खालिदा जियालाई देश छोड्न बाध्य पार्नु थियो।’
तारिक रहमान ११ सेप्टेम्बर २००८ मा देश छोडेर परिवारसहित लण्डन प्रस्थान गरे।
खालिदा जियाले भने त्यसबेला देश छोडिनन्। तर भनिन्छ कि सैन्य नेतृत्वसँगको एउटा सम्झौता अन्तर्गत नै रहमानको जेलबाट रिहाइ भएको थियो। त्यसबेला मिडियामा यस्तो खबर छापिएको थियो कि रहमानले देश छोड्नुअघि भविष्यमा राजनीति नगर्ने सम्बन्धी एउटा मुचुल्का पनि दिएका थिए।
मोहिउद्दीन अहमद भन्छन्, ‘खालिदा जियाले त्यसबेला आफैं भनेकी थिइन् कि तारिक अब राजनीति गर्ने छैनन्। उनी लण्डनमा पढाइ गर्नेछन्।’
दिवंगत बीएनपी नेता मौदुद अहमदले आफ्नो पुस्तक ‘कारागारे केमोन छिलाम’ (जेलमा कस्तो थिएँ) २००७-२००८ मा लेखेका छन्, ‘हुन सक्छ खालिदा जियाले सैन्य जनरलहरूसँग यो सम्झौता गरेकी थिइन् कि तारिक अब राजनीतिमा सक्रिय रहने छैनन्… सायद रहमानले यस्तो कुनै मुचुल्कामा हस्ताक्षर पनि गरेका थिए।’
बीएनपीले लामो समयसम्म तारिक रहमान उपचारका लागि लण्डनमा बसिरहेको भन्दै आयो। तर सन् २०१८ अप्रिल २४ मा पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले पहिलो पटक स्वीकार गरे कि रहमानले सन् २०१२ मा बेलायतमा राजनीतिक शरणका लागि आवेदन दिएका थिए र एक वर्षभित्रै उनको आवेदन स्वीकृत भएको थियो।
बंगलादेश फिर्ती
बंगलादेशमा सन् २००७ मा सेना समर्थित कामचलाउ सरकार सत्तामा आएपछि अवामी लिगकी अध्यक्ष शेख हसिनापछि बीएनपी नेता खालिदा जियालाई पनि पक्राउ गरिएको थियो। खालिदासँगै उनका छोरा अराफात रहमान (अहिले दिवंगत) लाई पनि पक्राउ गरिएको थियो।
यद्यपि पछि एक कार्यकारी आदेश मार्फत अराफात उपचारका लागि थाइल्याण्ड गएका थिए। त्यहाँबाट मलेसिया गए र त्यहीँ जनवरी २०१५ मा हृदयघातका कारण उनको निधन भयो। राजनीतिक विश्लेषक मोहिउद्दीन अहमद भन्छन्, ‘प्रतिकूल परिस्थितिमा पनि तारिक रहमान पार्टीलाई एकजुट राख्न सफल भएका छन् र यति धेरै घटनाहरूका बाबजुद पार्टीको नेताका रूपमा उनको स्वदेश फिर्ती मेरो नजरमा ‘भग्नावशेषको थुप्रोबाट पुनः उठ्नु’ जस्तै हो।’
उनले बीबीसी बाङ्लासँग भने, ‘तारिकले राजनीतिको अँध्यारो पाटो त देखेका नै छन्, उनलाई देशमा संघर्ष र बदलाको राजनीतिको पनि अनुभव हासिल भएको छ।’
मोहम्मद मोजिबुुर अहमद भन्छन्, ‘तारिक रहमान आफ्नै बलमा बीएनपीको शीर्ष नेताका रूपमा उदायका छन् र अवामी लिगको अनुपस्थितिका कारण उनले एउटा मञ्च पाएका छन्। तर अब उनले जनताको बीचमा परीक्षामा सफल हुनुपर्ने चुनौतीको सामना गर्नुपर्नेछ।’


