काठमाडौँ: बीमा क्षेत्रको विस्तार हुँदै गएको सरकारी तथ्यांकले देखाएको छ। बीमाका परिसूचक सकारात्मक हुँदै ४९.८ प्रतिशत जनसंख्यामा बीमा सेवा पुगेको छ। गत मंसिरसम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित आधा जनसंख्यामा बीमाको दायरा विस्तार भएको हो।
गत आर्थिक वर्षको सोही अवधिमा ४३ प्रतिशत जनसंख्यामा मात्र बीमा पुगेको थियो। एक वर्षको अवधिमा बीमा पहुँच झण्डै सात प्रतिशत बढेको छ। २०८२ कात्तिकमा बीमा पहुँच ४९.५ प्रतिशत थियो। एक महिनामामै बीमा पहुँच ०.३ प्रतिशत विन्दु बढेको छ।
चालू आर्थिक वर्षको मंसिरसम्म सक्रिय जीवन बीमालेख संख्या १६.८ प्रतिशत वृद्धि भई एक करोड ६१ लाख ६७ हजार ८५४ पुगेको छ। यस अवधिमा निर्जीवन बीमालेख संख्यासमेत ५.६ प्रतिशत वृद्धि भएको छ। कुल बीमालेख संख्यामध्ये जीवन बीमाको हिस्सा ९२.३ प्रतिशत छ।
आर्थिक वर्ष २०८२०८३ को मंसिरसम्म संकलन भएको बीमा प्रिमियम रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१ प्रतिशत वृद्धि भई ९८ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ८३ अर्ब ६६ करोड रुपैयाँ थियो।
यस अवधिको बीमा प्रिमियम संकलनमध्ये जीवन बीमा र निर्जिवन बीमातर्फ प्रिमियमको हिस्सा क्रमशः ७९.८ प्रतिशत र २०.२ प्रतिशत छ। गत आर्थिक वर्षको मंसिरसम्म यस्तो हिस्सा क्रमशः ७९.१ प्रतिशत र २०.९ प्रतिशत थियो।
वित्तीय क्षेत्र विकास रणनीतिः पाँच वर्षमा ६० प्रतिशत जनतामा बीमा पहुँच पुर्याउने लक्ष्य
यता सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।
रणनीति चालू आर्थिक वर्ष २०८२/०८३–८६/०८७ सम्म पाँच वर्ष र्कायान्वयन हुनेछ। पाँच वर्षमा थप १० प्रतिशत जनतालाई बीमामा समेट्ने लक्ष्य सरकारको छ।
सरकारी स्वामित्व, निजी लगानी र वैदेशिक संयुक्त लगानीमासमेत बीमा कम्पनी स्थापना भएका छन्। जीवन बीमा कम्पनीले सावधिक, म्यादी तथा आजीवन बीमाका साथै विदेश जाने कामदारका लागि वैदेशिक रोजगार बीमा सेवासमेत प्रदान गर्दै आइरहेका छन्।
निर्जीवन बीमा कम्पनीले सम्पत्ति, मोटर, इन्जिनियरिङ्ग, हवाई, सामुन्द्रिक तथा विविध बीमाअन्तर्गत दुर्घटना, कृषि तथा पशुपन्छी, लघु, स्वास्थ्यअन्तर्गतका बीमा सेवा प्रदान गर्दै आएका छन्।
हाल जीवन बीमा कम्पनीको संख्या १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी दुई र लघुबीमा कम्पनी सात गरी कूल ३७ बीमा कम्पनीहरुले बीमा सेवा दिइरहेका छन्।


