काठमाडौँ: नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्मालोचनाको माग गरेको हो।
महासंघका अनुसार २०८२ फागुन ६ गते धनगढीमा आयोजित चुनावी सभामा सम्बोधनका क्रममा बालेनले निर्माण कार्यमा भइरहेको ढिलाइबारे टिप्पणी गर्दै ‘दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि बाटो बन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए। महासंघले जिम्मेवार व्यक्तिका यस्ता टिप्पणीले ३० हजारभन्दा बढी निर्माण व्यवसायीको मनोबल गिराउने काम गरेको ठहर गरेको जनाएको छ।
देशभरका सातवटै प्रदेश निर्माण व्यवसायी महासंघ, ७७ वटै जिल्ला निर्माण व्यवसायी संघ, एशोसिएट सदस्य तथा निर्माण सामग्री उत्पादनसम्बद्ध संघसहित करिब ३० हजार व्यवसायी आबद्ध रहेको महासंघले पूर्वाधार विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्मरण गराएको छ। कृषिपछि भौतिक पूर्वाधार क्षेत्रले २५ लाखभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएको महासंघको दाबी छ।
महासंघले निर्वाचन आयोग नेपालसँग पनि उक्त अभिव्यक्तिलाई गम्भीर रूपमा लिन आग्रह गरेको छ। साथै निर्वाचनपश्चात गठन हुने संसद् र मन्त्रिपरिषद्को पहिलो बैठकमै पूर्वाधार क्षेत्रका लागि एकीकृत ‘छाता ऐन’ तर्जुमा प्रस्ताव गर्न माग गरेको छ।


