इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्या भएको छ। इरानको सरकारी टेलिभिजन च्यानलले उनको मृत्यु भएको पुष्टि गरिसकेको छ। संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। यसैबिच खामेनी मारिएका हुन्।
सरकारी टेलिभिजनमा समाचारवाचकहरूले पढेका वक्तव्यअनुसार, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले खामेनीको शनिबार बिहान सबेरै आफ्नै कार्यालयमा मृत्यु भएको हो। आक्रमण हुँदा उनी आफ्नै कामकाजमा व्यस्त रहेको बताइएको छ।
शनिबार स्थानीय समयअनुसार बिहान ९:३० बजेपछि तेहरानमा विस्फोट भएको थियो। इरानमा अमेरिकाको सहयोगमा इजरायलले आक्रमण गरेको हो। खामेनीको मृत्युको शोकमा इरानले ४० दिन शोक विदा घोषणा गरेको छ।

इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू र इरानी सर्वोच्च नेता आयतुल्लाह अ खामेनी
इजरायल-अमेरिकाले इरानमा गरेको आक्रमणमा खामेनीका छोरी, ज्वाइँ र नाति नातिना तथा इस्लामिक रिभोल्युशनरी गाड्र्स (क्रान्तिकारी गार्ड) का कमान्डर जनरल मोहम्मद पाकपुर पनि मारिएको तेहरानले पुष्टि गरेको छ। कम्तीमा ४० जनाको इरानी अधिकारीको मृत्यु भएको गुप्तचर तथा सैनिक स्रोतलाई उल्लेख गर्दै सीबीएस न्युजले लेखेको छ।
को हुन् खामेनी?
८६ वर्षीय इस्लामिक धार्मिक नेता खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा रहेका थिए। अमेरिकासँग निकट रहेका तत्कालिन राजा मोहम्मद रेजा पहलवीलाई रुहोल्लाह खुमेनीको नेतृत्वमा भएको क्रान्तिले सन् १९७९ मा अपदस्त गरेको थियो। उनको निधनपछि अली खामेनी उत्तराधिकारीका रूपमा अघि सारिएको थियो।
आयतुल्लाह अली खामेनीको जन्म सन् १९३९ मा इरानको उत्तर-पूर्वी सहर मशहदमा भएको थियो, जसलाई देशको सबैभन्दा पवित्र सहर मानिन्छ। आफ्नो पिताजस्तै उनले पनि मौलवी बन्ने बाटो रोजे र शिया मुसलमानहरूको दुई प्रमुख शैक्षिक केन्द्रहरूमध्ये एक ‘कुम’ मा गएर धार्मिक शिक्षा प्राप्त गरे। ११ वर्षको उमेरमै उनी मौलवी बने।
खामेनी इरानको त्यो समयमा हुर्किएका थिए जब शाह मोहम्मद रजा पहलवीको शासन थियो। त्यसवेला इरानमा राजतन्त्र थियो, जहाँ पहलवी वंशका शाह सत्तामा थिए। शाह एक धर्मनिरपेक्ष राजा मानिन्थे, जसले धर्मलाई एक प्राचीन र अप्रासंगिक अवधारणा ठान्थे। उनी धार्मिक मानिसहरूलाई शंकाको दृष्टिले हेर्थे।
सन् २०११ मा बीबीसी संवाददाता जेम्स रेनल्ड्सले इरानी-अमेरिकी लेखक मेहदी खालाजीको अन्तर्वार्ता लिएका थिए। खालाजी त्यसवेला खामेनीको जीवनी लेखिरहेका थिए। खालाजीले उक्त अन्तर्वार्तामा खामेनीको सुरुवाती वर्षहरूसँग जोडिएको एउटा प्रसङ्ग बताएका थिए। उनकाअनुसार जब खामेनी मौलवीको पोसाक लगाएर आफ्ना उमेरका बच्चाहरूसँग सडकमा खेल्थे, तब मानिसहरूले उनको मजाक उडाउने गर्थे।
उनले यो पनि बताएका थिए कि आफ्नो सुरुवाती वर्षहरूमा खामेनीलाई चुरोट पिउन मन पर्थ्यो— जुन एक धार्मिक व्यक्तिका लागि तुलनात्मक रूपमा असामान्य बानी मानिन्थ्यो। खामेनी जति-जति ठूला हुँदै गए, शाह शासनप्रति उनको आक्रोश र विरोध बढ्दै गयो। उनले चाँडै शाहका मुख्य विरोधी आयतुल्लाह रुहोल्लाह खुमेनीको समर्थनमा काम गर्न सुरु गरे।
‘इन्डियन काउन्सिल अफ वर्ल्ड अफेयर्स’ का फेलो र मध्यपूर्व मामिलाका जानकार डा. फज्जुर रहमान सिद्दीकी बताउँछन् कि खुमेनीको प्रभावमा आउनुअघि खामेनीलाई कविता लेख्ने निकै सोख थियो। उनी ‘अमिन’ नामबाट कविता लेख्ने गर्थे। तर खुमेनीबाट प्रभावित भएपछि उनले यो रचनात्मक गतिविधि पूर्ण रूपमा छोडिदिए।
आयतुल्लाह रुहोल्लाह खुमेनी त्यस समय शाहका सबैभन्दा मुखर आलोचकहरूमध्ये एक थिए। अमेरिकासँगको नजिकको सम्बन्धको विरोध गरेको कारण शाहले उनलाई देश निकाला गरेका थिए। खुमेनी इरानमा इस्लामी शासन स्थापना होस् भन्ने चाहन्थे। खामेनीले खुमेनीको सन्देशलाई देश भित्र फैलाउन सुरु गरे। यसै प्रयासका क्रममा उनी ६ पटक पक्राउ पनि परे।

इरानका अन्तिम राजा शाह मोहम्मद रजा पहलवी, जो सत्ताच्यूतपछि अमेरिकामा निर्वासित भए
इस्लामिक क्रान्ति
सन् १९७९ मा शाहको सत्ता पतन भयो र आयतुल्लाह रुहोल्लाह खुमेनीले पेरिसबाट फर्केर इरानमा इस्लामिक गणतन्त्रको स्थापना गरे। वरिष्ठ पत्रकार सईद नकवी बताउँछन् कि त्यस समय इरानको सडकहरूमा मात्र दुई जनाका तस्बिरहरू देखिन्थे— एउटा आयतुल्लाह खुमेनीको र अर्को हुसेन अली मोन्तजरीको।
इस्लामिक इरानमा शासनको बागडोर मौलवीहरूको हातमा थियो, र तिनै मौलवीहरूमध्ये एउटा नाम अली खामेनीको पनि थियो। उनी धेरै छोटो समयमा खुमेनीका सबैभन्दा नजिकका सहयोगीहरूमा सामेल भए। त्यही वर्ष तेहरानमा अमेरिकी दूतावास कब्जा गरिएको घटनामा पनि खामेनीले महत्त्वपूर्ण भूमिका निभाए। यस घटनाक्रमपछि अमेरिकासँग संवाद स्थापित गर्ने जिम्मेवारी पनि उनलाई दिइयो।
पछि अली खामेनीलाई देशको उपरक्षामन्त्री नियुक्त गरियो। यस क्रममा उनले ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) लाई संगठित गर्न अहम भूमिका खेले। आईआरजीसी पछि गएर इरानको सबैभन्दा शक्तिशाली संस्थाहरूमध्ये एक बन्यो।
यो बल स्थापना गर्नुको उद्देश्य एउटा यस्तो सेना खडा गर्नु थियो जसले देशका लागि धार्मिक, राजनीतिक र आर्थिक मोर्चाहरूमा लड्न सकोस् र इस्लामिक राष्ट्रलाई बाह्य खतरा मात्र होइन, आन्तरिक संकटबाट पनि सुरक्षित राख्न सकोस्।
हत्याको असफल प्रयास
खुमेनीको नेतृत्वमा इस्लामिक गणतन्त्र स्थापनाको दुई वर्ष मात्र बितेको थियो, सन् १९८१ मा खामेनीमाथि एक ज्यानलेवा हमला भयो। खामेनी एक पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका थिए, त्यही बेला उनको नजिकै राखिएको एउटा टेप रेकर्डरमा विष्फोट भयो।
यस विष्फोटमा खामेनीको दायाँ हात पक्षघात (प्यारालाइज) भयो र एउटा कानको सुन्ने क्षमता पनि प्रभावित भयो। यस हमलाको आरोप ‘मुजाहिद्दीन-ए-खल्क’ (एमईके) माथि लगाइएको थियो, जो त्यस समय इस्लामी शासनविरुद्ध सक्रिय थिए।
यस घटनापछि तेहरानमा एक सभालाई सम्बोधन गर्दै खामेनीले भनेका थिए, ‘हमलापछि म धेरै खराब अवस्थामा थिएँ। मलाई लाग्यो मृत्यु मेरो ढोकामै छ। अर्को केही दिनसम्म म सोचिरहेँ कि आखिर म किन बचेँ? पछि बुझेँ कि भगवानले कुनै न कुनै कारणले नै मलाई बचाउनुभएको होला।’
राष्ट्रपतिको पद
खामेनी आफ्नो त्यो चोटबाट तंग्रिँदै मात्र थिए, उनलाई इरानको अर्को राष्ट्रपति चुनियो। सन् १९८१ देखि अर्को सात वर्ष ३११ दिनसम्म उनी देशको राष्ट्रपति पदमा रहे।
उनको राष्ट्रपति कार्यकालकै समयमा इराकका तत्कालीन शासक सद्दाम हुसेनले इरानमाथि हमला गरे, जसले गर्दा दुई देशबीच आठ वर्ष लामो र विनाशकारी युद्ध सुरु भयो। यस युद्धका क्रममा खामेनीले धेरै महत्त्वपूर्ण निर्णयहरू गरे र रणनीतिक मोर्चाहरूमा सक्रिय भूमिका निभाए।
सन् १९८९ मा आयतुल्लाह रुहोल्लाह खुमेनीको निधन भयो। त्यसपछि अली खामेनीलाई इरानको अर्को सर्वोच्च नेता (सुप्रीम लीडर) नियुक्त गरियो।

इस्लामिक क्रान्तिका दौरानमा इरानका सडकमा भएको प्रदर्शन
सर्वोच्च नेता बनाउन संविधानमा संशोधन
खामेनीलाई संविधान संशोधन गरेर सर्वोच्च नेता बनाइएको थियो। डा. फज्जुर रहमान सिद्दीकी बताउँछन् कि आयतुल्लाह अली खामेनीलाई इरानको सर्वोच्च नेता त चुनियो, तर उनी आफैँले आफूलाई यस पदका लागि योग्य मान्दैनथे।
खामेनीलाई लाग्थ्यो कि यस पदका लागि उनीसँग पर्याप्त धार्मिक योग्यता छैन। यद्यपि, उनी आयतुल्लाह खुमेनीका निकै नजिक थिए र देशमा उनको लोकप्रियता पनि धेरै थियो। यसै कारण संविधानमा संशोधन गरेर उनलाई सर्वोच्च नेता बनाइयो। सर्वोच्च नेता बनेपछि खामेनीले आफूलाई बलियो बनाउन र आफ्नो वरिपरि भरपर्दो मानिसहरू तैनाथ गर्ने दिशामा काम गर्न सुरु गरे।
डा. सिद्दीकीका अनुसार, खामेनीले आफ्नो नजिकको सर्कलमा जानीजानी साधारण पृष्ठभूमि भएका मानिसहरूलाई राखे। उनलाई आशंका थियो कि बलियो सामाजिक वा धार्मिक पृष्ठभूमि भएका मानिसहरू भविष्यमा उनका लागि चुनौती बन्न सक्छन्।
अर्कोतर्फ, वासिङ्टनस्थित थिंक ट्यांक ‘मिडल इस्ट इन्स्टिच्युट’ मा इरान कार्यक्रमका निर्देशक एलेक्स वतान्काले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा भनेका थिए, ‘खामेनी जति जिद्दी छन्, उति नै सतर्क पनि छन्। यही कारणले उनी यति लामो समयदेखि सत्ताको केन्द्रमा टिकिरहेका छन्।’ तर त्यो जिद्दीपनको अब उनको निधनसँगै अन्त्य भएको छ।
खामेनीसँग जोडिएका विवाद
विगत साढे तीन दशकभन्दा बढी समयदेखि इरानको सर्वोच्च नेताको पदमा आसिन आयतुल्लाह अली खामेनीसँग जोडिएका धेरै विवादहरू समय-समयमा बाहिर आए। देशमा विरोधी आवाज दबाउनु, पत्रकारहरूलाई यातना दिनु, साहित्यकारहरूको रचनामा सेन्सरसिप लगाउनु, मानवअधिकारको हनन र कट्टरपन्थलाई प्रश्रय दिनुजस्ता आरोप खामेनीमाथि लागिरहे, जसले गर्दा उनी सधैँ प्रश्नको घेरामा रहे।
सन् २०२२ मा महसा अमिनीको मृत्युपछि इरानमा भड्किएको विरोध प्रदर्शनलाई कडाइका साथ कुल्चनमा पनि उनको शंकास्पद भूमिका रहेको बताइन्छ। खामेनीकै कार्यकालमा इरानमाथि परमाणु हतियार तयार गरेको आरोपमा धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लागे, जुन आज पनि जारी छन्।
यद्यपि, वरिष्ठ पत्रकार सईद नकवी बताउँछन् कि सन् २००३ को आसपास खामेनीले परमाणु हतियारविरुद्ध एउटा फतवा जारी गरेका थिए। यो फतवा लिखित रूपमा थिएन, तर आफ्नो सार्वजनिक भाषणहरूमा उनले बारम्बार भनेका थिए कि परमाणु हतियार इस्लामको विरुद्धमा छन् र यसको निर्माण तथा प्रयोग ‘हराम’ (वर्जित) हो।
पश्चिमी देशहरूले यस फतवालाई कहिल्यै गम्भीरतापूर्वक लिएनन् र यसलाई इरानको तर्फबाट आफ्नो छवि सुधार्ने एउटा प्रयासका रूपमा मात्र हेरे। आफ्नो लामो कार्यकालमा खामेनीले पाँच जना राष्ट्रपतिहरूसँग काम गरे, जसमध्ये चार जनामाथि यो आरोप लाग्यो कि उनीहरूले आफ्ना नीतिहरूमार्फत खामेनीको सत्तालाई चुनौती दिने प्रयास गरे।
सन् १९९७ मा राष्ट्रपति बनेका मोहम्मद खातमी पश्चिमी देशहरूसँग सम्बन्ध सुधार गर्न चाहन्थे। उनी इरानमा सामाजिक र राजनीतिक स्वतन्त्रताका पनि समर्थक थिए। तर उनको खामेनीसँग लगातार टकराव भइरह्यो र उनी आफ्नो प्रयासमा सफल हुन सकेनन्। हसन रुहानीलाई पनि एक हदसम्म उदारवादी नेता मानियो, तर उनी र खामेनीबीचको मतभेद पनि समय-समयमा सतहमा आइरह्यो।
अर्कोतर्फ, इब्राहिम रईसीसँग खामेनीको सम्बन्ध तुलनात्मक रूपमा राम्रो रह्यो, तर उनको कार्यकालमा मानवअधिकार हननका घटनाहरूमा तीव्रता आयो र देशले दमनको एउटा नयाँ दौर देख्यो। वर्तमान राष्ट्रपति मसूद पेजेश्कियान सुधारवादी विचारधारासँग जोडिएका छन्, तर उनले अहिलेसम्म खामेनीसँग सन्तुलन मिलाएर काम गरेका छन्।
खामेनीको निजी जीवनका बारेमा धेरै जानकारी सार्वजनिक छैनन्। मात्र यति थाहा छ कि उनका ६ जना सन्तान छन्— चार छोरा र दुई छोरी। अनि नातिनतिना।
उनका छोरा मोज्तबाको नाम अक्सर खामेनीको सम्भावित उत्तराधिकारीका रूपमा लिइन्छ। सर्वोच्च नेता बनेपछि खामेनीले कहिल्यै कुनै विदेश भ्रमण गरेनन्।

इजरायल-अमेरिकाले इरानमा गरेको आक्रमण
इजरायल-अमेरिकामाथिको अडान
आयतुल्लाह अली खामेनी अमेरिकालाई ‘ठूलो सैतान’ र इजरायललाई ‘सानो सैतान’ मान्थे। अमेरिका र इरानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण नै थियो, यसको पछाडि धेरै ऐतिहासिक घटनाहरू छन्। जस्तै सन् १९५३ मा अमेरिकी खुफिया एजेन्सी सीआईए र बेलायतको सहयोगमा इरानमा भएको सत्तापलट, १९७९ को इरानी क्रान्ति, तेहरानमा अमेरिकी दूतावासमा बन्धक संकट, इराकसँग आठ वर्ष लामो युद्ध, इरानको परमाणु कार्यक्रम र डोनल्ड ट्रम्पसँगको टकराव।
इस्लामिक क्रान्तिभन्दा अगाडिसम्म इरान र इजरायलको सम्बन्ध सुमधुर थियो। तर क्रान्तिपछि इरानले इजरायलको अस्तित्वलाई अस्वीकार मात्र गरेन, प्यालेस्टिनी मुद्दाको कट्टर समर्थन पनि सुरु गर्यो। समय-समयमा दुवै देशबीच ‘स्याडो वार’ अर्थात् पर्दा पछाडिबाट सैन्य र साइबर हमलाहरू भइरहेका थिए। –बीबीसीको सहयोगमा


