काठमाडौं। गत शनिबारदेखि सुरु भएको इरानमाथि अमेरिका इजरायलको आक्रमणले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकासिएको छ।
सोमबार कच्चा तेलको भाउ बढेर ब्यारेलको ७७.६७ डलर पुगेको छ। शनिबारदेखि मध्यपूर्वमा अशान्त सुरु भएको हो। यसअघि विश्व बजारमा कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ६८ डलर थियो।
आयल प्राइस डटकमका अनुसार मुरवान क्रुडमा कच्चा तेलको भाउ बढेर ७७.७६, ब्रेन्ट क्रुडमा ७६.२५ र डब्ल्युटीआई क्रुडमा ६९.८४ डलर पुगेको छ।
अमेरिका र इरानबीच जारी युद्ध लम्बिए कच्चा तेलको भाउ केही दिनभित्र ब्यारेलको १०० डलर पुग्ने विश्लेषकहरुको अनुमान छ।
२०७८ माघदेखि रुस युक्रेन युद्ध सुरु भएपछि कच्चा तेलको भाउ बढेर ब्यारेलको १४० डलरसम्म पुगेको थियो। पछि घेटेर ५६ डलर आसपासमा आएको थियो।
अमेरिका र इजरायलले शनिबार बिहानदेखि इरानमाथि आक्रमण गरिरहेका छन्। राजधानी तेहरानमा भीषण आक्रमण जारी छ। आक्रमणमा परेर इरानका सर्वाेच्च नेता आयातोल्लाह खमेनीलगायत सैनिक अधिकारीहरुको निधन भएको छ।
अमेरिका र इजरायलको आक्रमणपछि इरानले पनि कतार, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, साउदी अरेबिया र जोर्डनका साथै इजरायलमाथि जवाफी मिसाइल आक्रमण गरिरहेको छ। आक्रमणमा परी एक जना नेपालीले ज्यान गुमाएका छन्।
यसले मध्यपूर्वमा हवाइ उडान बन्द हुनुका साथै जल यातायात पनि अवरुद्ध हुन पुगेको छ। यो अवस्था थप दुई तीन दिन मात्र रह्यो भने ठूलो असर नपर्ला।
तर, रुस र युक्रेनबीचको जस्तो युद्ध लम्बिए तेलको आपूर्ति र यातायात प्रणालीमा ठूलो असर पर्ने देखिएको छ। यसको भार नागरिकले बोक्नुपर्ने निश्चित छ।
अमेरिका र इरानबीचको युद्ध अबका एक दुई दिनमा कसरी अघि बढ्छ भन्ने कुराले निर्धारण गर्ने अर्थविद्ध डा चन्द्रमणि अधिकारी बताउँछन्।
यदी युद्ध जारी भएमा यसको असर नेपाललाई पनि ठूलो पर्ने उनको भनाइ छ। ठूलो परिमाणमा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्दै आएका मध्यपूर्वका मुलुकहरु युद्धमा गएपछि कच्चा तेल आपूर्तिमा ठूलो असर पर्ने देखिएको छ। यसले कच्चा तेल आपूर्तिमा मात्र नभई बहुपक्षीय असर पर्ने उनको विश्लेषण छ।
उनका अनुसार पहिलो असर कच्चा तेल आपूर्तिमा पर्नेछ। विश्वको एकतिहाइ बढी कच्चा तेलको व्यापार हुने हरमुज क्यानल बन्द भएको छ। यो पर्सियन खाडी र ओमान हुँदै जान्छ।
यो क्यानल अहिले बन्द भइसकेको छ। यसले तेलको आपूर्ति र सामुन्द्रिक यातायातमा असर पर्ने देखिएको अर्थविद्ध अधिकारीको भनाई छ। यो क्यानल बन्द हुँदा साउदी अरेबियालगायत अन्य मुलुकबाट आउने तेलमा असर पर्नेछ।
यो वर्ष विश्व तेल बजार कमजोर रहने अनुमान गरिएको थियो। तर, अमेरिका इरान युद्धले यो प्रक्षेपणलाई फरक पार्ने देखिएको छ। वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को तेलको भाउ २०२६ को अन्त्यमा ब्यारेलको ६२ डलरमा रहने अनुमान तेल कम्पनीहरुले गरेका छन्।
जुन अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले २०२५ को लागि प्रक्षेपण गरेको औसत ६५.३२ प्रति ब्यारेल भन्दा कम हो। एजेन्सीले २०२६ मा ब्रेन्ट क्रूडको औसत मूल्य ब्यारेलको ५५.०८ डलर हुने अनुमान गरेको छ। डब्ल्युटीआईको औसत ५१.४२ ब्यारेल हुने अपेक्षा गरिएको छ।
यस्तै आगामी सन् २०२७ र २०२८ मा कच्चा तेल ब्यारेलको औसत ६९, २०२९ र २०३० सम्ममा ब्यारेलको ७५ डलर हुने अनुमान गरिएको छ। कच्चा तेलका साथै सुन र डलरको भाउ उकालो लागेको छ। विश्वमा महंगी बढ्ने संभावना देखिएको छ।


