काठमाडौँ: बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अधिकांश क्षेत्रमा अगाडि देखिएको छ। हाल ५३ क्षेत्रको मतगणना चलिरहँदा ४२ क्षेत्रमा रास्वपा अगाडि छ। नेपाली कांग्रेस ५ र नेकपा एमालेले ४ क्षेत्रमा मात्र अग्रता बनाउन सकेको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठूलो मतान्तरले पछि परेका छन्। झापा–५ मा २ हजार ३०३ मत गन्दा ओलीले ३८४ मात्रै मत प्राप्त गर्न सकेका छन् भने रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले एक हजार ४७६ मत पाएका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार रहेको सर्लाही ४ को मतगणना सुरु हुन बाँकी छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वमा एक हजार ४१५ मतसहित पहिलो स्थानमा छन् भने नेकपा एमालेका लिलामणि गौतमले ४३१ मत पाएका छन्।
पुरानो संगठन भएका दलहरू बढारिने प्रारम्भिक रूझान देखिएको अवस्थामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को किल्ला मानिने भक्तपुर १ मा पनि रास्वपाले अग्रता बनाएको छ।
पछिल्लो मत परिणाम अनुसार रास्वपाका रकेश रन्जितले ३ हजार ४५२ मत ल्याएर फराकिलो अग्रता बनाउँदा नेमकिपाका प्रेम सुवालले १ हजार ९८२ मत प्राप्त गरेका छन्। भक्तपुर १ मा २०४८ सालयताका आम निर्वाचनमा नेमकिपाले कहिल्यै हार बेहोरेको छैन। २०३९ यताका हरेक स्थानीय तह निर्वाचनमा यही क्षेत्रभित्र पर्ने भक्तपुर नगरपालिकामा नेमकिपाले एकछत्र राज गर्दै आएको छ।


