काठमाडौँ: आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट तीन हजार ४८६ जनाले उम्मेदवारी दिएकोमा तीमध्ये ५ जना पूर्वअर्थमन्त्रीहरू थिए। नेकपा एमालेबाट वर्षमान पुनले रोल्पाबाट,नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी–४ र प्रकाशशरण महत नुवाकोट, नेकपा एमालेबाट विष्णुकुमार पौडेलले रुपन्देही २ र प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवार बनेका थिए।
तर यसपटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर लहर ल्याउँदा पुनबाहेक अन्य सबै पूर्वअर्थमन्त्रीहरू पराजित भएका छन्।
पुन तेस्रोपटक रोल्पाबाट विजयी भएका हुन्। पुन २७ हजार ४६० मतसहित निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा सुदनकुमार वलीले १२ हजार ८ मत प्राप्त गरे। यस्तै रास्वपाका बलराम थापाले १० हजार ८९४ मत पाए।
सुनसरी ४ बाट उम्मेदवार बनेका ज्ञानेन्द्रबहादुर कार्की रास्वपाका दीपककुमार साहसँग पराजित भए। यहाँ साहले २५ हजार ३ मत ल्याउँदा पूर्वअर्थमन्त्री कार्की ९ हजार ७४७ मतमा रोकिए।
नुवाकोट १ मा रास्वपाका विक्रम तिमिल्सिनाले पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई पराजित गरे। यहाँ तिमिल्सिनाले १६ हजार ९२३ मत ल्याउँदा महतले १४ हजार १७८ मत प्राप्त गरे।
यसैगरी ८ पटक मन्त्री हुँदा तीन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुकुमार पौडेल रुपन्देही २ मा भारी मतान्तरले पराजित भए। यहाँ रास्वपाका उम्मेदवार अधिवक्ता सुलभ खरेलले उनलाई ४३ हजार ६८९ मतले पराजित गरे। यहाँ खरेलले ५६ हजार ५५० मत पाएर निर्वाचित हुँदा पौडेलले १२ हजार ८६१ मत मात्रै मात्रै ल्याउन सके।
जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका माओवादी पृष्ठभूमिका नेता जनार्दन शर्माले माओवादीको आधार इलाका रुकुम पश्चिममा हार व्यहोरे। यसअघि चारपटक सांसद बनेका शर्मालाई उनकै पूर्व सहकर्मी गोपाल शर्मा अनलले पराजित गरे। यहाँ अनल २१ हजार ६०९ मत ल्याएर विजयी हुँदा शर्मा तेस्रोमा खुम्चिए। नेपाली कांग्रेसका राजु केसी १६ हजार ६६१ मत र शर्माले १४ हजार ३४६ मत मात्रै प्राप्त गर्न सके।
प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वप्रधानमन्त्री एवं अर्थमन्त्री डा बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दिए पनि अन्तिम अवस्थामा फिर्ता लिएका थिए।


