काठमाडौँ: असोज ६ गते सिंहदरबारमा पदबहाली गर्दैगर्दा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भनेका थिए, ‘छ महिनापछि सुखद् बिदाइ हुन पाऊँ।’ तर चुनाव गराउने म्यान्डेट पाएको सरकारको सदस्य बनेका उनी प्रतिनिधिसभा निर्वाचन हुने भएपछि बीचमै राजीनामा दिएर चुनावतर्फ मोडिए। राजनीतिक संक्रमणका बेला सरकारमा सदस्य निष्पक्ष हुनुपर्नेमा उनी बीचमै राजनीमा दिएर राजनीतिक शक्ति निर्माणतर्फ लागेपछि उनको आलोचना पनि भयो।
जनतासँग प्रत्यक्ष साक्षात्कार गरेर जनताका मुद्दा सदनमा मुखरित गर्ने अभिलाशाकासाथ आफू जनताबाट अनुमोदित हुने संकल्प गरी चुनावी मैदानमा उत्रिएको उनी बताउँछन्। करिब चार महिना सञ्चारमन्त्रीको भूमिका निर्वाह गरेर राजीनामापछि ललितपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उनी निर्वाचित भएका छन्। निर्वाचनमा उनले ३९ हजार ४९१ मत प्राप्त गरे।
जीवनको २५ वर्षे सञ्चारकर्मबाट मन्त्री बनेका खरेल अब संसदमा पुगेका छन्। उनले भने, ‘जनताको विश्वास र भरोसाको मत लिएर आएका छौँ, अब देश बचाउने र देश बनाउने अभियानमा लाग्नेछौँ। मुलुक नयाँ ढंगले अगाडि बढ्नेछ।’
जनतामा खुसी र देशको समृद्धिको उछाल ल्याउने हुटहुटीका साथ आफू मन्त्री पद छाडेर जनताबाट अनुमोदित भई नीति निर्माणमा काम गर्ने उद्देश्यका साथ चुनाव लडेको उनी बताउँछन्। चुनाव गराउने जिम्मेवारी बोकेको मन्त्रीले चुनावकै मुखमा पद छाडेर उम्मेदवार बन्नु नैतिक रूपमा प्रश्नयोग्य भएको भनी कतिले आलोचना गरे पनि जनपरीक्षणबाट निर्वाचित भैसकेपछि अब उनको खास परीक्षा सुरु हुनेछ।
जेनजी आन्दोलनपछि फागुन २१ गते सम्पन्न निर्वाचनबाट अब आउने सरकारलाई सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, डिजिटल रूपान्तरणका साथै मुलुकलाई विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने अभिभारा र राष्ट्रिय दायित्व छ।
को हुन् जगदीश?
दोलखाको कालिञ्चोक गाउँपालिका–सुनखानी भदौरेमा वि.सं. २०३९ साउन २२ गते जन्मिएका जगदीश खरेल नेपाली सञ्चार क्षेत्रको एक चिनिएका अध्ययनशील व्यक्तित्व हुन्। खरेलले सानो गाउँको साधारण परिवेशबाट राष्ट्रिय स्तरको सञ्चारकर्मी र नीतिगत तहसम्मको यात्रा तय गरे। उनको बाल्यकालदेखि नै बोल्ने शैली स्पष्ट, आत्मविश्वासपूर्ण र प्रभावशाली थियो। विद्यालयस्तरमै वक्तृत्व र व्यक्तित्व विकासमा अब्बल मानिन्थे। उनले गाउँकै कालिनाग माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षाका लागि काठमाडौँ आएर आरआर क्याम्पस, भृकुटीमण्डपबाट पत्रकारितामा आईएदेखि एमएसम्म अध्ययन पूरा गरे।
औपचारिक शिक्षालाई निरन्तरता दिँदै उनी हाल अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि अध्ययनरत छन्। अध्ययनसँगै व्यवहारिक अनुभव जोडेर अघि बढ्नु उनको विशेषता हो ।
वि.सं. २०५६ सालमा केएटीएच एफएमबाट उनको सञ्चारयात्रा सुरु भएको थियो। २०५९ असारदेखि उनी इमेज च्यानलमा काम गर्न थाले। एउटै संस्थामा लामो समयसम्म सक्रिय रहनु उनको व्यावसायिक इमानदारी र विश्वसनीयताको प्रमाण भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्। उनले रेडियो कार्यक्रम सञ्चालकदेखि फिल्ड रिपोर्टर, कार्यक्रम निर्माता हुँदै समाचार प्रमुखसम्मको जिम्मेवारी निर्वाह गरे। विशेषगरी उनले सञ्चालन गरेको ‘ती दिन’ र ‘हट सिट’ कार्यक्रम दर्शक–श्रोतामाझ लोकप्रिय रह्यो । घटनास्थलमै पुगेर रिपोर्टिङ गर्ने उनको शैलीले जनजीवनका वास्तविक कथा मिडियामार्फत उजागर भए। समसामयिक राजनीतिक, सामाजिक विषयमा आधारित ‘हट सिट’ टक शोबाटै उनी जनतामाझ लोकप्रिय भए।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाले।
नागरिक सरकारमा रहँदा उनले सार्वजनिक स्थानमा वाईफाई फ्रि, अनलाइन मिडिया दर्ता प्रणाली सुधार, दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार, सगरमाथा आधार शिविर क्षेत्रमा फोरजी सेवा विस्तारलगायतको प्रयास गरेका थिए। यस्तै सरकारी सुरक्षा मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ, सामाजिक सञ्जाल बन्द नगर्ने नीतिसहित प्रेस स्वतन्त्रताको पक्षमा मत राखेका थिए।
पुराना राजनीतिक दललाई एकजुट गराउनेदेखि नयाँ वैकल्पिक शक्तिहरुलाई एकतृत गर्ने कार्यमा पनि सञ्चारमन्त्री खरेलको भूमिका देखियो । संसद पुनःस्थापनाको रडानमा रहेका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेलाई निर्वाचनमा ल्याउन मन्त्री खरेलले व्यक्तिगत रुपमा कडा मेहेनत गरे। शीर्ष नेताहरुलाई सरकारसँगको संवादमा जोडेर परिस्थितिलाई सामान्य बनाउनेकार्फमा उनको शीर्ष भूमिका रह्यो।
निर्वाचनको वातावरण बनाउन कहिले प्रमुख तीन दलका पार्टी कार्यालय पुगेर त कहिले निवासमै गएर शीर्ष नेताहरूसँग वानटुवान वार्ता र संवाद गरे। सञ्चारमन्त्री खरेलले करिब एक महिना राजनीतिक दलहरुलाई संवाद र सहमतिमा ल्याएर निर्वाचनको सुनिश्चित गर्न खेलेको भूमिका अतुलनीय छ। उनले पटक–पटक प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एक ठाउँमा ल्याउन खेलेको भूमिका सराहनीय रह्यो।
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री, प्रमुख राजनीतिक राजनीतिक दलका शीर्ष नेताको बैठक र संवाद, प्रधानमन्त्रीको उपस्थितिमा राजनीतिक दल, राजनीतिक दल र जेनजी पुस्ताबीच संवाद, सरकार, राजनीतिक दल, जेनजी, सुरक्षा निकाय र सबै सरोकारवालालाई एकै थलोमा जम्मा गरेर वार्ता र संवादको सकारात्मक निचोड निकाल्ने कामको नेतृत्वदायी भूमिका पनि सञ्चारमन्त्री खरेलले निर्वाह गरे।
मुलुकमा निर्वाचनको वातावरण बनाउन सरकार, दल, जेनजीयुवा र सरोकारवालालाई एउटै शुत्रमा बाध्ने सम्बन्ध सेतुको रुपमा मन्त्री पदमा रहँदा खरेलले समन्वयकारी भूमिका निर्वाह गरे र आज मुलुकमा निर्वाचनको महाउत्सव सम्पन्न भएको छ। यो परिस्थितिमा आइपुग्न पूर्व सञ्चारमन्त्री खरेलले अनेकन पहलकदमी लिएका थिए। त्यो सरकार र राजनीतिक दलसँगको वार्ता र संवाद होस् या राष्ट्रपति, सरकार, राजनीतिक दल, जेनजी पुस्ता, सुरक्षा निकाय, निर्वाचन आयोगलाई एउटै थलो र लयमा लगेर मुलुकलाई निकास दिन गरेको अहम भूमिका प्रशंसनीय रह्यो।
तर बीचमै सांसद उम्मेदवार बन्न सरकार छाडेर गएपछि उनको आलोचना भयो। निर्वाचित भएपछि अब त्यो आरोपलाई काम गर्ने हुटहुटीका कारण विशेष परिस्थितिमा लिएको कदमका रूपमा प्रतिनिधिसभा सदस्यका रूपमा उनले भूमिका निर्वाह गर्नुपर्नेछ। यसअघि पत्रकारितामार्फत उठाएका नागरिकका सवाल र प्रश्न अब उनले संसदको मञ्चमा उठाउनुपर्नेछ।
उनी आवद्ध दलको सरकार बन्न लागेकोमा उनले देखाउने भूमिकाले पनि अबको उनको चरित्र निर्धारण गर्नेछ, उनले खेल्ने भूमिकाबाटै उनको राजनीतिक व्यक्तित्व निर्माण हुनेछ।


