काठमाडौँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र इन्स्योरबीच सीप परियोजना तालिम सञ्चालनका लागि सहकार्य सम्झौता भएको छ। सम्झौतापत्रमा नाडा अध्यक्ष ध्रुव थापा र परियोजनाका तर्फबाट संस्थाका टिम लिडर रवीन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
बुधबार नाडाका पदाधिकारी, नाडाअन्तर्गत गठित सीप विकास इकाइका सदस्य तथा स्विस सरकारको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भटासअन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका उच्च अधिकारी उपस्थिति नाडा सचिवालयमा हस्ताक्षर भएको हो।
तालिमका लागि दुवै संस्थाको सहमतिमा नियम र सर्तहरुसमेत तयार गरिएको छ। नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी र प्राविधिज्ञहरुलगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र सीपयुक्त बनाउनका लागि यो सझौतापत्रमा हस्ताक्षर गरिएको हो।
यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयार गरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिनेछ। जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफ्ना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिससमेत गर्नेछ। जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ।
नाडाले आफ्नो इतिहासमा पहिलोपटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य राखेको छ। यस किसिमको तालिमले अटोमोबाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ। यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालयसमेतको व्यवस्था गरिसकेको छ।


