काठमाडौँ: धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले चार समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। प्रवक्ता सत्य घलेका अनुसार आइतबार बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार समानुपातिकतर्फ पाएको मतगणनाअनुसार भाग लाग्न आएका चार सांसदको नाम आज निर्वाचन आयोगमा पठाइएको हो।
घलेले आदिवासी जनजाति क्लस्टरबाट सुनसरीका पूर्ण लिम्बू (पुरुष), मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) को नाम आयोगमा पठाएको जानकारी दिए।
चार महिनाअघि खुलेको श्रम संस्कृतिबाट सुनसरी १ बाट साम्पाङ, खोटाङबाट आरेन राई र भोजपुरबाट ध्रुवराज राईसहित तीन उम्मेदवार निर्वाचित भएका थिए।


