काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। सो कार्यक्रममा सहभागी हुने सांसदहरूलाई मोबाइल फोन प्रयोग गर्न निषेध गरेको छ।
पार्टीले जारी गरेको सूचनाअनुसार आगामी चैत ३ र ४ गते अभिमुखीकरण कार्यक्रम सञ्चालन हुनेछ। कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा बिहान १० बजेदेखि सुरु हुने बताइएको छ।
रास्वपाका अनुसार कार्यक्रममा पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरूको अनिवार्य उपस्थिती रहनेछ। कार्यक्रम आवासीय प्रकृतिको हुने भएकाले सहभागी सांसदहरूको खाना तथा बसोबास पार्टीले ‘सेयरिङ बेसिस’मा व्यवस्था गर्ने जनाएको छ।
सूचनामा कार्यक्रमको अनुशासन कडाइका साथ पालना गर्न पनि निर्देशन दिइएको छ। कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग पूर्ण रूपमा निषेध गरिनेछ। कार्यक्रममा सांसदबाहेक अन्य व्यक्तिलाई प्रवेश दिइने छैन।
परिवारका सदस्य, साथीभाइ वा अन्य व्यक्ति होटलमा आवासीय रूपमा बस्न नपाउने उल्लेख गरिएको छ। कार्यक्रममा सहभागीहरूले परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक गर्ने अनुमति नहुने पनि सूचनामा जनाइएको छ।
त्यसैगरी, कार्यक्रमका लागि व्यवसायिक क्याजुअल पोशाक अनिवार्य गरिएको छ।
पार्टीका महासचिव कविन्द्र बुढाथोकीद्वारा जारी सूचनामा अभिमुखीकरण कार्यक्रममार्फत सांसदहरूलाई संसदीय अभ्यास, पार्टीको नीति तथा कार्यशैलीबारे जानकारी गराइने जनाइएको छ।



