काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले दलका सांसदहरूलाई आगामी निर्वाचनसम्म प्रतिपक्ष नै नहुनेगरी जनताले रास्वपालाई विश्वास गर्ने वातावरण बनाउनेगरी काम गर्न आग्रह गरेका छन्। मंगलबारदेखि सुरु नवनिर्वाचित सांसदहरूलाई दिन लागेको दुई दिने अभिमुखीकरण कार्यक्रममा उनले सबै जनाले आफ्नो ठाउँबाट काम गरेर सतप्रतिशत परिणाम निकाल्न आवश्यक भएको बताए।
अन्यथा अहिलेको जस्तो विश्वास रास्वपाप्रति नरहेन चिन्ता व्यक्त गर्दै उनले सधैँ सभापति रवि लामिछाने र सधैँ रवि र वरिष्ठ नेता बालेन्द्र शाहलाई दौडाएर जनताको विश्वास आर्जन नहुने भनाइ राखे।
‘अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले रास्वपालाई प्रतिपक्ष नै नहुनेगरी मतदान गर्ने वातावारण होस्। त्यो काम भाषण गरेर र सधैँ आदरणिय सभापति रवि लामिछाने र बालेन्द्र शाहलाई दौडाएर सम्भव छैन,’ उनले भने, ‘सबै जनाले आफ्नो ठाउँबाट कामम गरेर १०० प्रतिशत काम निकाल्न आवश्यक छ।’
अहिले इतिहास पढ्ने मात्रै नभइ इतिहास लेख्ने समय भएको उनको भनाइ छ। यो समयलाई सदुपयोग गर्न नसके समयले माफी नदिने पनि उनले बताए। रास्वपाका सबै सांसदलाई गम्भीर भएर तयार हुन आग्रह गर्दै उनले नेपालको संविधान, कानुन र रास्वपाको विधानअनुसार काम गर्न तयार हुन आग्रह गरे।
आन्तरिक द्वन्द्व र खिचातानीमा नअल्झिएर देश निर्माणमा हरेक मिनेट जुट्नुपर्ने समय आएको उनको भनाइ थियो।
अभिमुखीकरण कार्यक्रममा सभापति लामिछाने र वरिष्ठ नेता शाह भने उपस्थित छैनन्। अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहलाई पनि अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताए।


