काठमाडौँ: मुलुकमा बीमा व्यवसाय विस्तार हुँदै गएको छ। बीमाका सूचक सकारात्मक हुँदै जाँदा आधा नेपालीमा बीमा सेवा पुगेको छ। गत पुससम्म म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेखसहित ५० प्रतिशत नागरिकमा दायरा विस्तार भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ।गत आर्थिक वर्षको यही अवधिमा ४३.६२ प्रतिशत रहेको थियो। एक वर्षको अवधिमा झण्डै सात प्रतिशत बीमा पंहुच बढेको छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म बीमा प्रिमियम संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशत वृद्धि भई एक खर्ब २० अर्ब ९४ करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बीमा यस्तो प्रिमियम संकलन ९.४ प्रतिशत बढेको थियो ।
कुल बीमा प्रिमियम संकलनमध्ये जीवन बीमातर्फ ७९.९ र निर्जीवन बीमातर्फ २०.१ प्रतिशत छ। गत आर्थिक वर्षको सोही अवधिको बीमा प्रिमियम संकलनमध्ये जीवन बीमातर्फ ७९.२ र निर्जीवन बीमातर्फ २०.८ प्रतिशत थियो। गत आर्थिक वर्षको यही अवधिमा ४३.६२ प्रतिशत रहेको थियो।
चालू आर्थिक वर्षको छ महिनाको बीमा प्रिमियम संकलनमध्ये साउन र पुसको उच्च रहेको छ। यस अवधिको औसत बीमा प्रिमियम संकलन २० अर्ब १६ करोड रुपैयाँ छ। चालू आर्थिक वर्ष २०८२/०८३ को माघ मसान्तसम्म सञ्चालनमा रहेका बीमा कम्पनीहरूले ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्।
बीमा प्राधिकरणका अनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन्। जीवन बीमा कम्पनीहरूले सात महिनामा एक लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन्।
निर्जीवन बीमा क्षेत्रमा भने दाबी भुक्तानीको चाप उल्लेख्य रूपमा बढेको छ। गत वर्षको तुलनामा यस वर्ष भुक्तानी रकम ३२.३० प्रतिशत वृद्धि भई १५ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणका अनुसार गत भदौमा भएको आन्दोलन र असोजमा आएको विनाशकारी बाढी–पहिरोका कारण भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमातर्फ दाबी र भुक्तानी दुवै ह्वात्तै बढेको हो।
कम्पनीहरूले ठूलो रकम भुक्तानी गरिसके पनि अझै ५५ अर्ब ६० करोड १५ लाख रुपैयाँ दाबी रकम तिर्न बाँकी छ।
यसमध्ये करिब ५० अर्ब १५ करोड रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ। विशेषगरी असोजको प्राकृतिक विपत्तिसँग सम्बन्धित ठूला दाबीहरूको प्राविधिक मूल्यांकन प्रक्रिया जारी रहेकाले बाँकी दायित्व उच्च देखिएको प्राधिकरणले जनाएको छ।हाल एक लाख ७६ हजारभन्दा बढी दाबी फाइलहरू प्रक्रियामै रहेको जनाइएको छ।
यता सरकारले तयार पारेको वित्तीय क्षेत्र विकास रणनीतिले आगामी पाँच वर्षमा ६० प्रतिशत जनसंख्यामा बीमा पहुँच पुर्याउने लक्ष्य लिएको छ।रणनीति चालू आर्थिक वर्ष २०८२/०८३–०८६/०८७ सम्म पाँच वर्ष कार्यान्वयन हुनेछ। पाँच वर्षमा थप १० प्रतिशत जनतालाई बीमामा समेट्ने लक्ष्य सरकारको छ।
सरकारी स्वामित्व, निजी लगानी र वैदेशिक संयुक्त लगानीमासमेत बीमा कम्पनी स्थापना भएका छन्। जीवन बीमा कम्पनीले सावधिक, म्यादी तथा आजीवन बीमाका साथै विदेश जाने कामदारका लागि वैदेशिक रोजगार बीमा सेवासमेत प्रदान गर्दै आइरहेका छन्।
निर्जीवन बीमा कम्पनीले सम्पत्ति, मोटर, इन्जिनियरिङ, हवाई, सामुन्द्रिक तथा विविध बीमाअन्तर्गत दुर्घटना, कृषि तथा पशुपन्छी, लघु, स्वास्थ्यअन्तर्गतका बीमा सेवा प्रदान गर्दै आएका छन्।
हाल जीवन बीमा कम्पनीको संख्या १४, निर्जीवन बीमा कम्पनी १४, पुनर्बीमा कम्पनी दुई र लघुबीमा कम्पनी सात गरी कूल ३७ बीमा कम्पनीहरुले बीमा सेवा दिइरहेका छन्।


