काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ। राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन्।
सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागी परेर निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे। उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे।
‘फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाएसँगै सांसदहरूको शपथ ग्रहरण र नयाँ सरकार गठनको बाटो खुलेको छ। शपथ ग्रहणका लागि सिंहदरबास्थित संसद् भवनमा अस्थायी भवन निर्माण गरिएको छ। उक्त अस्थायी भवनमा भदौ १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम तय भइसकेको छ। राष्ट्रपतिले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई शपथ खुवाएपछि केसीले ज्येष्ठ सदस्यका हैसियतले अन्य सांसदहरूलाई शपथ खुवाउनेछन्।
फागुन २१ गते सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुईतिहाइ निकट मत ल्याएको छ। दुईतिहाइका लागि १८४ सांसद आवश्यक पर्नेमा रास्वपा एक्लैले १८२ सिट जितेको छ। निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा जानेछ।
नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम रास्वपाले नयाँ सरकार बनाउने पक्का भैसकेको छ। ‘राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुनेछ,’ उक्त उपधारामा भनिएको छ। यसअघि संघीय लोकतान्त्रिक गणन्त्रमा गएयता नेपालमा धारा १ अनुसार सरकार बनेको छैन, पहिलोपटक उक्त व्यवस्थाअनुसार सरकार गठन हुन लागेको हो।
निर्वाचन आयोगले अन्तिम परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सांसदहरूको शपथपूर्व पनि सरकार गठन हुन सक्ने भए पनि हालसम्म सरकार गठनबारे रास्वपाले निर्णय नगरिसकेकाले सांसदको शपथ ग्रहणपश्चात् मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। रास्वपाले बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। शाह सरकार गठनका लागि मन्त्री छनोटलगायत आन्तरिक तयारीमा छन्।
रास्वपाले चैत १३ गते शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। त्यसपछि पहिलो दलको हैसियतले रास्वपाको संसदीय दलको नेता अर्थात् बालेन शाहलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन्। चैत १३ देखि १५ सम्ममा नयाँ प्रधानमन्त्री चयन तथा केही मन्त्रीसमेतको मन्त्रिपरिषद् गठनको तयारी रास्वपाले गरिरहेको छ।


