काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १८२ सिट जितेर एकल सरकार बनाउने तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई शुभेच्छा प्रकट गरेका छन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी र व्यक्तिको तर्फबाट बधाई व्यक्त गर्दै ५ वर्षका लागि सरकार चलाउने अवसर पाएको रास्वपालाई संविधान र नवयुवाहरूको विद्रोहको मर्मअनुसार सरकार सञ्चालन गर्न सुझाव दिए।
उनले रास्वपालाई यसबीचमा अब गिरीबन्धु प्रकरण र वाइडबडी प्रकरणदेखि नेताका घरमा भेटिएका भनिएका पैसाबारे छानबिन हुनुपर्ने बताएका छन्। यसका लागि कांग्रेसले सरकारलाई पूरा साथ दिने बताए।
‘यसबीचमा अब गिरीबन्धु प्रकरण, वाइडबडी प्रकरणदेखि नेताका घरमा भेटिएका भनिएका पैसाबारे छानबिन हुनुपर्छ। सार्वजनिक ओहदामा रहेका सबैलाई छानबिन गरेर जिम्मेवार बनाउनुपर्छ। यसमा कांग्रेसले रास्वपा सरकारलाई पूरा साथ दिन्छ,’ उनले भने।
यस्तै गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहबारे अनुसन्धान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई उनले अनुरोध गरे। ‘त्यो प्रतिवेदन तत्काल सार्वजनिक पनि होस्। त्यो प्रतिवेदन अनुसार कार्यान्वयन पनि होस्। जसले गल्ती गरेको छ उसले सजाय पाउने अवस्था बनोस्,’ उनले भने, ‘बिना पूर्वाग्रह यी कुराहरू अघि बढोस् भन्ने कुरामा नेपाली कांग्रेस पार्टी स्पष्ट अडान पनि राख्छ।’
प्रकाशित: २०८२ चैत १० गते मङ्गलबार ०२:२७