सिन्धुपाल्चोक – विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटक पटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौँ घर र खेतियोग्य जमिन बगर बने भने हजारौँ नागरिक विस्थापित भए।
बाढीले क्षति पुर्याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरु सुरक्षित बसोबासको पर्खाइमा छन्। मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बन्नुभएकी हेलम्बु–२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन्। बाढीले उनको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुुकुम्बासी बन्नुभएको छ। सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ।

विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले क्षति पुर्याएको मेलम्ची नगरपालिका वडा नम्बर ११ को रेडियो मेलम्चीको भवन ।
हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउनुहुन्छ। बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ। नदि नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरेका छन्। उनले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाए।
बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्। मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एक जनाले मात्र अन्तिम किस्ता पाएका छन्।

विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले मेलम्चीको पक्कीपुल बगाएपछि विकल्पको रुपमा मेलम्चीवासीले आवतजावत गर्दै आएको झोलुङ्गेपुल । तस्बिरः देवराज सुवेदी/रासस
यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन्। जिल्लामा बाढी पहिरोलगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउनुहुन्छ। उनले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताए। घर बनाउन दिने रु पाँच लाख कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताए। पाँच लाख घर बनाउन अपुग भएको छ।

विसं २०७८ असार १ गते बाढीले क्षति पुर्याएको सिन्धुपाल्चोककोे हेलम्बु–२ किउलवासीको घर। मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। सो क्षेत्रमा आजकै दिन बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो भने नदी तटीय क्षेत्रका सयौँ घर, खेतीयोग्य जमिन बगरमा परिणत हुनुका साथै हजारौँ नागरिक विस्थापित भएका थिए।
प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ। यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ। उनले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएको बताए।

विसं २०७८ असार १ गते र त्यसपछि आएको बाढीले प्रभावित हेलम्बु गाँउपालिका वडा नम्बर २ स्थित किउल क्षेत्र।
विसं २०७८ असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो। पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए। हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए।
–देवराज सुवेदी/रासस


