बीबीसी। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता नभए इरानका विद्युत् उत्पादन गर्ने केन्द्र र तेलखानीसहितका संरचनाहरू ध्वस्त पारिदिने धम्की दिएका छन्।
यद्यपि उनले अमेरिकाले इरानको नयाँ सत्तासँग गम्भीर कुराकानी गरिरहेको र त्यसबाट इरानमा जारी अमेरिकी सैन्य कारबाही टुङ्ग्याउने सम्भावना रहेको पनि उल्लेख गरेका छन्।
उनको सामाजिक सञ्जाल ट्रूथ सोशलमा लेखेका छन्, “अमेरिका एउटा नयाँ र अधिक समझदार सत्तासँग सैन्य कारबाही समाप्त गर्नेबारे गम्भीर छलफलमा छ। यसमा निकै प्रगति भएको छ र सम्भवतः सम्झौता हुन्छ यदि कुनै कारणले चाँडै हुन सकेन भने र व्यापारका निम्ति तत्काल होर्मुज जलमार्ग खोलिएन भने हामी इरानमा आफ्नो उपस्थितिलाई अहिलेसम्म हामीले सदाशयसहित नछोएका उनीहरूका सबै विद्युत् उत्पादन गर्ने केन्द्रहरू, तेलखानीहरू, खार्ग टापु र पानी प्रशोधनकेन्द्रहरू लाई पूरै ध्वस्त पारिदिन्छौं”
यसबीचमा इरान, लेबनन र इजरायलमा नयाँ हमला भएका समाचारहरु आइरहेका छन्। त्यस्तै स्ट्रेट अफ होर्मुजमा पानीजहाजहरूको आवतजावत युद्धपूर्वको तुलनामा निकै कम रहेको बताइएको छ।
यी घटनाक्रमबीच एसियाली बजारमा मंगलबार पनि कच्चा तेलको मूल्य बढेको विवरण आएको छ। अमेरिकी कारोबारको तेलको मूल्य तीन प्रतिशतले बढेर झन्डै १०६ अमेरिकी डलर प्रतिब्यारल पुगेको बताइएको छ।ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले एउटा प्रेस ब्रिफिङमार्फत इरान युद्धबारे जानकारी गराएकी छन्।
अमेरिकाले अहिलेसम्म एक हजार भन्दा अधिक स्थानलाई निसाना बनाएको र १५० वटाभन्दा धेरै जहाजमा क्षति पुर्याउँदै इरानी जलसेनालाई तहसनहस पारेको दाबी गरेकी छन्। प्रेस सेक्रेटरीले अमेरिका र इरानबीचको वार्ता जारी रहेको र राम्रोसँग चलेको पनि बताइन्।साथै, उनले इरानले अमेरिकासँग सम्झौता गर्ने यो अवसर गुमाए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइन्।
तर इरानी अधिकारीहरूले भने अमेरिकासँग वार्ता चलिरहेको भन्ने विवरणको फेरि खण्डन गरेका छन्।विदेशमन्त्रीका प्रवक्ता इस्माइल बाकाईले युद्ध सुरु भएयताको अवधिको चर्चा गर्दै इरानले यी ३१ दिनमा अमेरिकासँग कुनै कुराकानी नगरेको दाबी गरेका छन्।
यसअघि इरानी अधिकारीहरूले युद्ध समाप्त गर्न अमेरिकाले अघि सारेको मागलाई अतिशय र अनुचित भनेका थिए। उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यलाई प्रभावित तुल्याउन वार्ताबारे मिथ्या दाबी प्रचारप्रसार गरिने गरेको दाबी गरेका थिए।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्न थालेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ब्यारलेको ११३.३ डलर पुगेको छ। यस्तै डल्युटीआई क्रुडमा १०१ र मुरवान क्रुडमा ११६.५ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ।


