काठमाडौं। भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ। इजरायल र इरानबीच पश्चिम एसियामा चर्किएको युद्धका कारण खाडि मुलुकका धेरै तेल प्रशोधन केन्द्रहरुमा बमबारी हुनुका साथै विश्वभर तेल आपुर्ति हुने हर्मुज नाका बन्द भएपछि त्यसको असर विश्वव्यापी रुपमा परिरहेको छ।
दिल्लीमा १९ केजी तौल क्षमताका व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य १९५.५० भारुबाट बढेर दुई हजार ७८ भारु पुगेको छ। त्यस्तै, ५ केजी एफटीएल सिलिन्डरको मूल्य ५१ रुपैयाँ बढेर ५४९ भारु कायम गरिएको छ। कोलकातामा १९ केजी व्यावसायिक सिलिन्डरको मूल्य २१८ रुपैयाँ बढेको छ।
यद्यपि, घरेलु प्रयोगका लागि १४.२ केजी एलपीजी सिलिन्डरको मूल्य भने यथावत् राखिएको छ। दिल्लीमा यसको मूल्य ९१३ भारु कायम छ, जुन पछिल्लोपटक मार्च ७ मा ६० भारुले बढाइएको थियो।
यसैबीच, आजैदेखि हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ। दिल्लीमा हवाइ इन्धनको मूल्य प्रतिकिलो लिटर २,०७, ३४१.२२ भारु पुगेको छ भने कोलकातामा २०५,९५३.३३ भारु कायम गरिएको छ। मुम्बईमा १९४,९६८ भारु र चेन्नईमा २१४,५९७ भारु पुगेको छ
अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यसअघि ८१६ भारु रहेको मूल्य बढेर १६ सय ९० भारु पुगेको छ। पश्चिम एसियामा बढ्दो भूराजनीतिक तनाव र कच्चा तेलको मूल्य वृद्धिका कारण इन्धनको मूल्य बढेको बताइएको छ। सरकारका अनुसार देशभर इन्धन आपूर्ति भने सहज रहेको छ र पेट्रोल पम्पहरूमा पर्याप्त भण्डारण उपलब्ध छ। एएनआई


