काठमाडौँ: नेपाली चलचित्र बजारको समग्र आकार यस वर्ष करिब रु. २ अर्ब १९ करोड ९१ लाख नाघेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको वार्षिक समरी २०८२ अनुसार नेपाली र विदेशी चलचित्र दुवैको व्यापार जोड्दा कुल बजार उक्त आकारमा पुगेको हो।
बोर्डका तथ्याङ्कअनुसार यस वर्ष नेपाली चलचित्रले रु. १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० को व्यापार गरेका छन् भने विदेशी चलचित्रको कलेक्सन रु. १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ पुगेको छ। यसअनुसार विदेशी चलचित्रको व्यापार नेपालीभन्दा केही बढी देखिएको छ।
दर्शक संख्याको हिसाबले भने कुल हल उपस्थिति ७० लाख ४ हजार ३०१ पुगेको छ। जसमध्ये नेपाली चलचित्र हेर्ने दर्शक ३७ लाख ८१ हजार ५४४ र विदेशी चलचित्र हेर्ने दर्शक ३३ लाख २२ हजार ७५७ रहेको बोर्डले जनाएको छ।
बोर्डका अनुसार समग्र चलचित्र गतिविधि विस्तार हुँदै गएको देखिन्छ। यस वर्ष मात्रै २३० चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस पाएका छन्। प्रदर्शनतर्फ ५६ नेपाली र ९३ अन्तर्राष्ट्रिय चलचित्र हलमा आएका छन्।
प्रदर्शनी संरचनामा पनि विस्तार देखिएको छ—देशभर ८ नयाँ सिनेमा हल दर्ता भई कुल हल संख्या १७२ पुगेको छ। वितरण क्षेत्रमा ९ नयाँ वितरक थपिएसँगै कुल वितरक संख्या ४४ पुगेको छ।
चलचित्र विकास बोर्डले यो तथ्याङ्कले नेपाली फिल्म उद्योग उत्पादन, प्रदर्शन र व्यापार तीनै क्षेत्रमा क्रमिक विस्तार भइरहेको संकेत गरेको जनाएको छ।


