काठमाडौँ: जेनजी आन्दोलनको रापतापबाट उदाएर छोटो समयमा राजनीतिक छलाङ मारेका गृहमन्त्री सुधन गुरुङको आर्थिक पारदर्शितामा गम्भीर प्रश्न उठेको छ। गृहमन्त्री नियुक्त भएको एक महिना नपुग्दै स्रोत नखुलेको सम्पत्ति विवरणपछि विवादास्पद व्यवसायी दीपक भट्टको कम्पनीसँगको कनेक्सनले उनी विवादमा तानिएका हुन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट समूहको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडमा गृहमन्त्री गुरूङलले ५३ लाख रुपैयाँ बढीको सेयर खरिद गरेको बाहिरिएको छ। मन्त्री बन्नुभन्दा ठीक ५ दिन अघिसम्म उनले दोस्रो बजारमा उनले आक्रामक रूपमा सेयर खरिद गरेको तथ्य फेला परेको छ।
नासा सेक्युरिटिज (ब्रोकर नं. ५८) को विवरण अनुसार, गुरुङले २०८२ माघ १५ देखि चैत ८ गतेसम्मको करिब ५० दिनको अवधिमा मात्रै ५३ लाख ३३ हजार ५८० रुपैयाँ बराबरको सेयर खरिद गरेका छन्। रोचक के छ भने, उनले मन्त्रीको शपथ लिनुभन्दा ५ दिन अघि अर्थात् चैत ८ गते एकै दिन ७ पटक ठूलो परिमाणमा सेयर किनेका थिए।
नेपाल बीमा प्राधिकरणले कैयौं कानूनी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणले शंकर समूह र दीपक भट्ट सम्बद्ध कम्पनीलाई छानीछानी लघु बीमा कम्पनीको लाइसेन्स दिएको हिमालखबरले सार्वजनिक गरेको थियो। अनुमति दिइएका कम्पनीमा जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफ इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स तथा निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्सुरेन्स, प्रोटेक्टिभ माइक्रो इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स तथा ट्रस्ट माइक्रो इन्सुरेन्स रहेका थिए।
चर्चित विचौलिया दिपक भट्ट समूहले सेटिङमा हत्याएको लघु बिमा कम्पनीमा गृहमन्त्री गुरुङ पनि पार्टनर रहेको तथ्य आइतबार दियोपोस्टले सार्वजनिक गरेपछि बाहिरिएको हो।
उनले २०८२ माघ १५ गते पहिलो पटक १५ लाख ७८ हजार रुपैयाँको सेयर खरिद (७ लाख ९० हजार र ७ लाख ८८ हजारका दुई कारोबार) गरेको देखिन्छ। माघ २७ गते १६ लाख १७ हजार रुपैयाँको, चैत ८ गते एकै दिन ७ वटा कारोबारमार्फत कुल २१ लाख ३८ हजार ५८० रुपैयाँको सेयर खरिद गरेको पाइएको छ। यसको ठीक ५ दिनपछि उनी गृहमन्त्री नियुक्त भएका थिए। जुन उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा भने लुकाएका छन्।
चैत ८ गतेको विवरण हेर्दा उनले न्यूनतम २२ हजार ९२० देखि अधिकतम ९ लाख १५ हजार रुपैयाँसम्मका ७ वटा छुट्टाछुट्टै कारोबार गरी एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेडको सेयर थुपारेको देखिन्छ।
गृहमन्त्री गुरुङको यो लगानी केवल सेयर बजारमा मात्र सीमित छैन। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्ट र शंकर समूहसँग उनको व्यवसायिक साझेदारी रहेको खुलेको छ।

भट्ट र गुरुङबीच स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी रहेको तथ्य देखिएको छ। विगतमा हामी नेपाली नामक संस्था सञ्चालन गर्दा दीपक भट्ट र अग्रवाल दाजुभाइबाट सहयोग लिएका गुरुङले मन्त्री बनेपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी कम्पनीहरूको नाम खुलाएका छैनन्। उनले करिब २ करोड ७४ लाखको सेयर रहेको उल्लेख गरे पनि ती कुन-कुन कम्पनी हुन् भन्ने विवरण लुकाएका हुन्।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको नाममा २५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर छ।
रोचक पक्ष त यो छ कि, गुरुङ सञ्चालक रहेको हामी नेपाली संस्थामा सबैभन्दा ठूलो दान दिने दाता पनि शंकर समूह नै हो। यसले उनी राजनीतिमा आउनुअघि नै यी समूहहरूसँग आर्थिक रूपमा जोडिएको पुष्टि गर्छ।
विगतमा डीजे हुँदै भूकम्पपछि सामाजिक सेवामा संलग्न गुरुङ हामी नेपालका संस्थापक संयोजक हुन्। उक्त संस्थाले ५ वर्षअघि भट्टलाई काठमाडौँमा सम्मान समेत गरेको थियो।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गरेपछि स्वस्फूर्तरूपमा युवाहरूले गरेको जेनजी आन्दोलनमा सुधन नेतृत्वको हामी नेपाल संस्था पानी बाँड्न गएको थियो। त्यसवेला उनी स्वयंले आफू पानी बाँड्न माइतीघरमा उपस्थित भएको अन्तर्वार्तामा भनेका थिए। तर त्यही आन्दोलनको बलमा तत्कालिन प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढलेपछि गुरुङ एकाएक चर्चामा आएका थिए।
गुरुङले सेनासँग वार्ता गर्नेदेखि लिएर अन्तरिम सरकार गठन गर्नेसम्मका भूमिका खेलेका थिए। त्यही आन्दोलनको जगमा रास्वपाबाट चुनाव जितेर उनी गृहमन्त्री बनेका हुन्।
जेनजी आन्दोलनयता उनी पटक–पटक विवादित बनेका छन्। आफ्नै अभिव्यक्तिका कारण आलोचित भैरहने उनी केही समयअघि पोखरा महानगरपालिकाले फेवातालको अतिक्रमित संरचना हटाउँदा आफ्नो जग्गा परेमा त्यहाँ पनि डोजर चलाउनु भनेर फोन गरेका थिए। तर पछि उनले उक्त जग्गा ’एड्भेन्चर स्पोर्ट्स नेपाल’ सुरू गर्न लिजमा लगेको खुलेको थियो। त्यसपछि उनले जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाइ आफूलाई ठगेको भन्दै कानुनी प्रक्रियामा जाने बताएका थिए।
शेयर बजारमा ४ करोड ३१ लाख बढीको सेयर, धनकुटामा १९ रोपनी १५ आना, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी, गाडी र ६१ लाख बढी बैंक ब्यालेन्स भएको उनको सम्पत्ति विवरण सार्वजनिक भएपछि उक्त सम्पत्तिको वैधतामाथि पनि प्रश्न उठेको थियो।
विवादमा तानिएपछि सामाजिक सञ्जालमा गुरुङको राजीनामा माग भैरहेको छ भने उनले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता बढाएका छन्।
प्रकाशित: २०८३ बैशाख ७ गते सोमबार १२:२२