काठमाडौँ: चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत फिल्मको कमाइ विवरण सार्वजनिक गरेको छ। जसअनुसार, विराज भट्ट स्टारर ‘राम नाम सत्य’ले २ करोड ७८ लाख १८ हजार ८४१ रुपैयाँ ग्रस कमाएको छ।
कलाकार तथा निर्माता विराज भट्टले बनाएको यो ‘एक्सन मूभी’को लगानी अनुपातमा यसको आय न्युन देखिएको छ। झण्डै तीन करोड लगानीमा बनेको यो फिल्मले पैसा उठाउन कम्तिमा पनि ९ करोड रुपियाँको ग्रस कलेक्सन गर्नुपर्ने हुन्छ।
‘यही आधारमा भन्ने हो भने फिल्मले लगानी उठाउन मुस्किल छ’, एक फिल्म वितरकले भने, ‘यो बीचमा आएको तुलसी घिमिरेले ल्याएको फिल्मले समेत निराशाजनक व्यवसाय गरेपछि फिल्मवृत्तमा एकखालको नैरास्यता देखिएको छ।’
विकास बोर्डका अनुसार तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’को कमाइ पनि निकै कमजोर देखिएको छ। शनिबारसम्म यो फिल्मले ४६ लाख ७६ हजार ६३७ रुपैयाँ ग्रस कमाइ गरेको छ।
सोही अवधिसम्म ‘पहाड’लाई १४ हजार ३१८ जना दर्शकले हेरेका छन्।


