काठमाडौँ: सरकारले महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले लेखकलाई फिर्ता बोलाइएको जानकारी दिए।
लेखकलाई २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी फिर्ता बोलाउने निर्णय भएको उनले बताए।
२०८१ चैत १२ गते तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले लेखकलाई हङकङका लागि महावाणिज्यदूत नियुक्त गरेको थियो। त्यसवेला लेखक परराष्ट्र मन्त्रालयका सहसचिव थिए।
लेखकले परराष्ट्र र संघीय मामिलामन्त्रालयमा सहसचिव तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र भन्सार विभागअन्तर्गत कृष्णनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रूपमा पनि काम गरेका थिए।


