काठमाडौँ: पूर्वगृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्यालले सरकारलक्षित टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै शासनकर्ता नभई सहजकर्ता बन्न सुझाव दिएका हुन्।
उनले विधिमार्फत थिति बसाल्ने जिम्मा दिएकाे स्मरण गराउँदै भनेका छन्, ‘शासनकर्ता हाेइन, सहजकर्ता बनाैँ। शास्त्र भन्छ, मानव जीवात्मा पनि परमात्माकै अंश हाे।’
सरकारले काठमाडौँसहित देशभर सरकारी जग्गामा अतिक्रमित सुकुम्बासी बस्ती हटाउने काम गरिरहेको छ। यसक्रममा सुकुम्बासीहरूलाई पुनर्स्थापन गर्ने भन्दै होल्डिङ सेन्टरमा राखेको छ। घरबारविहीन धेरै परिवारलाई एउटै साँघुरो भवनभित्र राखिएको, पर्याप्त खाना उपलब्ध नगराएको, बिरामीलाई औषधि उपलब्ध नगराइएको, बालबालिकाका लागि पोषण नभएको, महिलालाई आधारभूत सामग्री उपल्बध नगाइएको, सरसफाइको हालत नाजुक भई बिरामी र स्वस्थ्य मानिस सबैलाई एकै ठाउँमा राखिएको भन्दै आलोचना भैरहेको छ।
यस्तै पढिरहेका, स्कुल जाने उमेरका बालबालिका परीक्षा दिन नपाउने अवस्था आई सामान्य मानवअधिकारको ग्यारेन्टी पनि नगरिएको आरोप आलोचकहरूको छ।
अर्याल प्रधानमन्त्री वालेन्द्रनिकट मानिन्थे। वालेन्द्र काठमाडौँ महानगरपालिकाको मेयर हुँदा अर्याल उनका कानुनी सल्लाहकार रहेकोमा पछि मतभेद भएर अर्याल उनीसँग टाढिएका थिए।
प्रधानमन्त्री वालेन्द्रले गृह र रक्षामन्त्रालय पनि सम्हालिरहेका छन्। सुधन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएपछि उक्त मन्त्रालय आफैँसँग राखेका वालेन्द्रले सुरक्षा निकायहरूसँग छलफल गरी सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएका थिए।


