काठमाडौँः यादवकुमार भट्टराई निर्देशित नेपाली कथानक चलचित्र झिल्को भारतको प्रतिष्ठित दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएको छ।
झिल्को बालबालिकामा डिजटल प्रविधिको अनियन्त्रित प्रयोगले पार्ने मनोवैज्ञानिक प्रभाव, त्यसले बालबालिकाको जीवन र पारिवारिक सम्बन्धमा पार्ने गम्भीर असरको कथामाथि बनेको फिल्म हो। झोला र भोरजस्ता सफल चलचित्र निर्देशन गरेका भट्टराईको यो तेस्रो फिल्म हो। गत वर्ष वैशाखमा नेपाली सिनेमा घरहरूमा सीमित प्रदर्शन भएको थियो भने पुन: व्यापक प्रदर्शनको तयारी भैरहेको छ। चलचित्रलाई बालबालिका र अभिभावकहरूले निकै रुचाएका छन्।
आगामी मे ४ देखि ८ सम्म नयाँ दिल्लीस्थित इन्दिरा गान्धी नेसनल सेन्टर फर आर्टमा आयोजना हुने दिल्ली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १५औँ संस्करणमा विश्वभरिका ५० देशमा एक सयभन्दा बढी चलचित्र प्रदर्शन हुँदैछन्। महोत्सवको अन्तिम दिन मे ८ मा स्थानीय समयअनुसार बिहान १०:३० देखि १२ बजेसम्म झिल्को प्रदर्शन गर्ने कार्यतालिका रहेको छ।
चलचित्रको मुख्य कलाकारमा वरिष्ठ अभिनेता सुनील पोखरेल, चर्चित अभिनेत्री वर्षा सिवाकोटी, अभिनेता विशाल पोखरेल र बाल कलाकार आयुषी ढकालको अभिनय रहेको छ। चलचित्रको कार्यकारी निर्मातामा उमेश पौडेल छन् भने छायांकन वरिष्ठ दीपक बज्राचार्यले गरेका हुन्। पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको रहेकोमा सम्पादन निमेष श्रेष्ठले गरेका हुन्।
महोत्सवमा चलचित्र छनौट पछि प्रतिकृया दिँदै निर्देशक भट्टराईले भने, ‘प्रतिष्ठित चलिचत्र महोत्वमा झिल्कोको छनौटले चलचित्रको महत्व झन् बढेको छ। आजको समयको समाजभित्र निकै गहिरो रूपमा प्रभाव पारिरहेको विषयमा बनेको चलचित्र विश्व समक्ष पुग्ने अवसर महोत्सवबाट जुटेको छ। ‘


