काठमाडौँ: उच्च अदालत पाटनले आगामी वैशाख १८ गते प्रदर्शन मिति तय भएको चलचित्र लालीबजारको प्रदर्शनमा रोक लगाएको छ। रोशनी नेपालीले चलचित्र प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर गरेको रिटमा न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले अल्पकालिन अन्तरिम आदेश जारी गर्दै अर्को आदेश जारी नहुन्जेललाई फिल्म प्रदर्शन गर्न रोक लगाएको हो।
नेपालीले लालीबजारमा बादी समुदायको इज्जत प्रतिष्ठामा आघात पुग्ने दृष्य र संवाद फिल्मको ट्रेलरमा देखिएको भन्दै रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले वैशाख २२ गतेसम्मका लागि उक्त फिल्म प्रदर्शनमा रोक लगाएको हो।
छोरीको रक्षाका लागि आमाले गर्ने सङ्घर्षलाई फिल्म ‘लालीबजार’ को ट्रेलरमा देखाइएको छ। फिल्ममा स्वस्तिमा आमाको भूमिकामा छिन्। देह व्यापारलाई कथाको मुख्य विषयवस्तुका रूपमा अघि सारिएको छ।
आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनमा उठाइएका विषयवस्तुले निवेदकसमेतलाई अपूरणीय क्षति पुग्ने देखिँदा सुविधाको सन्तुलनका आधारमा मिति २०८३ । १ । २२ गते सम्म सार्वजनिक रुपमा ‘लाली बजार’ नामक चलचित्र प्रदर्शन गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१)(क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ।’



