काठमाडौँ: नेपाली फिल्म क्षेत्रमा आफ्नै कथाशैली र बनावटका कारण चर्चित निर्देशक नवीन सुब्बा फेरि नयाँ प्रयोगसहित दर्शकमाझ फर्किन लागेका छन्। उनको आगामी चलचित्र ‘लाहुरे जुत्ता’ यतिखेर वर्कसप र लोकेसन तयारीको अन्तिम चरणमा छ, जसले नेपाली सिनेमा निर्माणको परम्परागत शैलीलाई चुनौती दिँदै नयाँ मानक स्थापित गर्ने संकेत देखाएको छ।
चलचित्र निर्माण आफैँमा एक खर्चिलो विधा हो। ठूला ब्यानर र व्यावसायिक लगानीकर्ताको दबदबा रहेको बजारमा यो चलचित्र ‘सामुदायिक लगानी’ को अवधारणामा निर्माण भइरहेको छ।
यसअघि निर्माता आमोद राई र निर्देशक सुब्बाले ‘गाउँ आएको बाटो’ मा सामुदायिक लगानीको अवधारणा अघि सारेका थिए। चलचित्रका निर्माता आमोद राईले भने, ‘चलचित्र निर्माण एउटा अत्यन्त महँगो कला हो, विशेष गरी हाम्रो जस्तो कम बजेटको सामुदायिक परियोजनाका लागि यो झनै चुनौतीपूर्ण हुन्छ।’ तर, विश्वभरका कला र मानवीय संवेदनालाई बुझ्ने मानिसहरूको साथले नै यस्ता परियोजनाहरू सम्भव हुने उनी बताउँछन्।
कलाकारलाई सम्झौताका वेला वा सम्झौताअघि नै फिल्मको स्क्रिप्ट दिने चलन भए पनि निर्देशक सुब्बाले यसपटक कलाकारहरूलाई सुरुमा स्क्रिप्ट दिएका छैनन्। उनले कलाकारहरूलाई सुरुमै स्क्रिप्ट नदिई छायांकनको अन्तिम चरणतिर मात्र उपलब्ध गराउने शैली अपनाएका छन्। उनी पहिले पात्रको गहिराइ बुझाउने र पात्र विकासमा जोड दिने योजनामा छन्।
यस चलचित्रमा परम्परागत सिनेमाटोग्राफी भन्दा फरक शैली अपनाउने तयारीङ्गा निर्देशक सुब्का छन्। चलचित्रको छायांकनलाई लिम्बू समुदायको दार्शनिक जग मुन्धुम र लायाप कलामा आधारित बनाइएको छ। यसले दृश्यलाई केवल एउटा फ्रेममा मात्र सीमित नगरी सांस्कृतिक र आध्यात्मिक गहिराइ प्रदान गर्ने विश्वास गरिएको छ।
यसका लागि प्रसिद्ध चिनियाँ छायांकार वेई पुलाई अनुबन्ध गरिएको छ, उनले बर्लिन फिल्म फेस्टिभलमा छानिएको ‘सांघाई डटर’ जस्ता चलचित्रमा काम गरिसकेका छन्।


