काठमाडौँ: सर्वोच्च अदालतले विश्वविद्यालयभित्रका विद्यार्थी संगठन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सम्बन्धी सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सोमबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारको निर्णय तत्काल लागू नगर्न आदेश दिँदै अन्तरिम आदेशमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।
सरकारले हालै अध्यादेशमार्फत विश्वविद्यालय तथा क्याम्पसभित्र क्रियाशील विद्यार्थी संगठनमाथि रोक लगाउने तथा स्ववियु संरचना खारेज गर्ने व्यवस्था गरेको थियो। उक्त निर्णयविरुद्ध अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूले अदालतमा रिट दायर गरेका थिए।
प्राथमिक सुनुवाइपछि अदालतले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ। अदालतले निवेदकले उठाएका मागअनुसार आदेश जारी हुन नपर्ने भए त्यसको स्पष्ट आधार पेश गर्न सरकारलाई निर्देशन दिएको छ।


