काठमाडौं। चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ।
चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ। ५२२ किलोमिटर लामो यस सडकको किनारमा राखिएका सौर्य प्यानलहरूले यो उपलब्धि हासिल गरेका हुन्।
यस सौर्य ऊर्जाको मुख्य प्रयोग सडकको दुबै किनारमा लगाइएको विशाल हरित पर्खालमा सिँचाइ गर्नका लागि पानी तान्ने पम्पहरू चलाउन गरिन्छ । मरुभूमिको विस्तार रोक्न र सडकलाई बालुवाको कटानबाट जोगाउन सडकको दुबैतर्फ करिब २ करोड रुख र बुट्यानहरू रोपिएका छन्।
यो हरित क्षेत्रले वायुमण्डलमा रहेको कार्बन उत्सर्जनलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तथ्याङ्कका अनुसार यस आश्रय क्षेत्रले वार्षिक २० हजार टन कार्बन डाइअक्साइड सोस्ने गर्दछ। यसैका कारण यो मार्ग अहिले विश्वकै नमुना ’जिरो–कार्बन’ (शून्य कार्बन) राजमार्गको रूपमा स्थापित भएको छ।
पर्यावरण संरक्षण र पूर्वाधार विकासलाई सँगै लैजान सकिन्छ भन्ने यो परियोजनाले विश्वका अन्य देशहरूका लागि पनि एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। सीसीटीभी


