एजेन्सी। अदानी समूहका अध्यक्ष गौतम अदानीले एसियाको सबैभन्दा धनी व्यक्तिको उपाधि पुनः प्राप्त गरेका छन्। अदानी समूहको सेयरमा आएको तीव्र वृद्धिले उनको कुल सम्पत्ति बढेपछि एसियाकै सर्वाधिक धनीको सूचीमा परेका हुन्।
उनले रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी र सफ्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मसायोशी सनलाई उछिन्न सफल भएका छन्। फोब्र्सका अनुसार अदानीको कुल सम्पत्ति बढेर ८९.२ अर्ब डलर पुगेको छ।
मुकेशको कूल सम्पत्ति ८८ अर्ब र सफ्ट बैंकका मसायोशी सन ८७ अर्ब डलर छ। बिहीबार जापानी लगानी फर्मको सेयर घट्नु अघि सनले एसियाको सबैभन्दा धनी व्यक्तिको उपाधि राखेका थिए।
अदानी समूहको सेयर मूल्यमा हालै ठूलो वृद्धि देखिएको छ। शुक्रबार अदानी ग्रिन इनर्जीको सेयर मूल्य ७ प्रतिशत र अदानी इनर्जीको चार प्रतिशत बढ्यो। अदानी इन्टरप्राइजेज र अदानी पोट्र्स एण्ड स्पेशल इकोनोमिक जोनको सेयर लगभग दुई प्रतिशत बढ्यो। जबकि अदानी पावरको सेयर एक प्रतिशत बढ्यो। २०२६ मा हालसम्म स्टक २३–५६ प्रतिशत बढेको छ।
गत महिना अमेरिकी न्याय विभागले अदानी समूह विरुद्धको ठगीको आरोप खारेज गरेपछि गौतम अदानीको सम्पत्ति लगभग १० अर्ब डलरले बढेको छ। सौर्य ऊर्जा आपूर्ति सम्झौतामा समूहले २५ करोड डलरको घूसखोरी योजनामा भाग लिएको आरोप लागेपछि यो घटना भएको हो। यसले लगानीकर्ताहरू डराएका थिए।
त्यसअघि, अमेरिकामा रहेको सर्ट सेलर हिन्डेनबर्ग रिसर्चले अदानीलाई २०२३ मा कर्पोरेट इतिहासको सबैभन्दा ठूलो ठगी भनेको थियो। सेयर मूल्यमा हेरफेर र व्यापक ठगीको आरोप लगाएपछि समूहका कम्पनीका सेयर मूल्य ओरालो लागेका थिए।
विश्वका सबैभन्दा धनी व्यक्तिहरू को हुन्?
फोब्र्सको वास्तविक समय (रियल टाइम) अर्बपतिहरूको सूचीअनुसार, गौतम अदानी हाल विश्वको २३ औं धनी व्यक्ति हुन्। त्यसपछि अम्बानी र सन छन्।
अदानी दोस्रो सबैभन्दा ठूलो दैनिक लाभकर्ताको रूपमा सूचीबद्ध छन्। शुक्रबार उनको कुल सम्पत्ति ४२.५ अर्ब बढेको छ। एलोन मस्क विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन्। उनको कूल सम्पत्ति ८०० अर्ब डलरभन्दा बढी छ। उनी गुगलका सह–संस्थापक ल्यारी पेजभन्दा दुई गुणा बढी धनी छन्।


