गत वर्ष जर्मनीको ड्रेस्डेनमा फक्सवागनको एउटा ठूलो कारखाना बन्द भयो। यो कारखाना युरोपको औद्योगिक शक्तिको पहिचान थियो। त्यहाँबाट हजारौँ माइल टाढा अमेरिकाको दक्षिण क्यारोलिनामा अर्को जर्मन कम्पनी बीएमडब्लुले आफ्नो संसारकै सबैभन्दा ठूलो कारखाना चलाइरहेको छ।
यी दुई कारखाना बीचको भिन्नताले एउटा कुरा बुझाउँछ। यो एउटा यस्तो प्रश्न हो जसमा अर्थशास्त्रीहरूले लामो समयदेखि बहस गरिरहेका छन्। संसारभरि एउटै खालका समस्या आउँदा पनि अमेरिकी अर्थव्यवस्था अरूभन्दा किन अगाडि छ?
पछिल्ला केही वर्षमा विकसित देशहरूले धेरै समस्या भोगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करले विश्व व्यापारमा बाधा पुऱ्यायो। मानिसहरूलाई ठूलो संख्यामा देश निकाला गर्दा श्रम बजारमा परिवर्तन आयो। मध्यपूर्वको युद्धले तेलको मूल्यमा ठूलो उतारचढाव ल्यायो।
धेरै अर्थशास्त्रीहरूले यी समस्याले अमेरिकालाई गाह्रो पार्ने सोचेका थिए। तर अमेरिकाको आर्थिक वृद्धि स्थिर गतिमा भइरह्यो। महँगी कहिलेकाहीँ उच्च देखियो। तर मानिसहरूले डराए जस्तो कमजोर वृद्धि र बढ्दो मूल्यको डरलाग्दो अवस्था आएन।
आरएसएमका मुख्य अर्थशास्त्री जो ब्रुसुएलासका अनुसार व्यापार युद्ध नै अमेरिकाको सहनशक्तिको सबैभन्दा ठूलो प्रमाण हो। उनी भन्छन्, ‘व्यापार र आप्रवासनमा ट्रम्प सरकारले आफ्नै खुट्टामा बन्चरो प्रहार गर्ने खालका काम गरेको थियो। तर त्यसैले नै अमेरिकी अर्थव्यवस्था कति शक्तिशाली छ भन्ने कुरा देखायो।’
विदेशी पाटपुर्जामा अचानक कर थपिँदा अमेरिकी कम्पनीहरूले नाफा घटेकोमा चित्त बुझाएर बसेनन्। उनीहरूले लगानी अझ बढाए। अहिले अमेरिकामा पुँजीगत लगानी जीडीपीको १३.९ प्रतिशत छ। ब्रुसुएलासका अनुसार समस्याका बेला यो लगानी घट्नुपर्ने थियो, तर घटेन।
यसको सट्टा उत्पादकत्वमा वृद्धि भयो। यसले गर्दा धेरै दबाबहरू कम भए। अमेरिकी अर्थव्यवस्था अहिले पनि वार्षिक २ प्रतिशतको दरले बढिरहेको छ।
ऊर्जा बजारले पनि यसको अर्को कारण दिन्छ। मध्यपूर्वको युद्धले तेलको मूल्य बढायो। पहिले यस्तो हुँदा अमेरिकी वृद्धिलाई ठूलो खतरा हुन्थ्यो। तर ‘शेल क्रान्ति’ ले अमेरिकाको ऊर्जा क्षेत्रलाई पूरै परिवर्तन गरिदियो। गएका २० वर्षमा अमेरिका तेल र ग्यास उत्पादनमा विश्वकै ठूलो देश बन्यो। अहिले व्यवसायहरूले तेलमाथिको निर्भरता घटाएका छन्।
ब्रुसुएलास भन्छन्, ‘सन् २००० देखि सुरु भएको ‘फ्र्याकिङ’ र वैकल्पिक इन्धनको विकासले गर्दा एउटा राम्रो अवस्था बनेको छ। अहिले जीडीपीमा तेलको योगदान ५० वर्षअघिको तुलनामा आधाले घटेको छ।’
युरोप र अमेरिका बीचको भिन्नता प्रष्ट छ। अमेरिकाले लचकता अपनायो र फ्र्याकिङलाई प्रोत्साहन दियो। उसले बजार अनुसार मूल्य चल्न दियो। युरोपले भने ऊर्जा सुरक्षाका लागि लामा सम्झौताहरूमा भर पऱ्यो। त्यसैले युक्रेन युद्धपछि रुसी ग्यास बन्द हुँदा धेरै युरोपेली देश समस्यामा परे। मध्यपूर्वको अहिलेको तनावले गर्दा युरोप अझै पनि जोखिममा छ।
ब्रसेल्सको थिङ्क ट्याङ्ककी रेबेका क्रिस्टीका अनुसार यो नीतिगत छनोट मात्र होइन। यो जोखिमप्रतिको सांस्कृतिक सोचाइ पनि हो। ‘अमेरिकीहरू समस्याको समाधान खोज्छन्। उनीहरू लामो समयको फाइदाका लागि छोटो समयको जोखिम लिन तयार हुन्छन्। युरोपेली संस्कृति भने जोखिम लिन डराउने खालको छ।’
उनी भन्छन्, ‘एकपटक युरोपेली संघका आयुक्तले नै एउटा कार्यक्रममा भन्नुभएको थियो— युरोपमा मानिसहरू ‘जोखिम नलिँदा हुने जोखिम’ बारे कुरै गर्दैनन्।’
व्यवसाय र पेन्सन प्रणाली कसरी बनाइएको छ भन्ने कुराले पनि यो भिन्नता देखाउँछ। युरोपमा कम्पनीहरू बैंकको ऋणमा धेरै भर पर्छन्। त्यहाँ कामदारको पेन्सन बीमा सम्झौतामा बाँधिएको हुन्छ, जसले नाफा र घाटा दुवैलाई सीमित गरिदिन्छ।
क्रिस्टी भन्छिन्, ‘यदि तपाईं बैंक ऋणमा मात्र भर पर्नुभयो भने तपाईं लचिलो हुन सक्नुहुन्न। तर अमेरिकामा कम्पनीहरूले लगानीकर्ता र शेयर बजारबाट पैसा जुटाउँछन्। यसले उनीहरूलाई फाइदा र लचकता दिन्छ।’
तैपनि क्रिस्टी एउटा कुरामा सतर्क छिन्। माथिबाट हेर्दा अर्थव्यवस्था बलियो देखिए पनि त्यसले भित्रको वास्तविक पीडा लुकाउन सक्छ। उनी भन्छिन्, ‘अमेरिकामा धेरै असमानता छ। संघर्ष गरिरहेका मानिसलाई यहाँ धेरै गाह्रो छ। किनभने जागिरहरू धेरै थपिएका छैनन्, सामान महँगो हुँदैछ र धेरै सहरमा घरको संकट छ।’
उनको ठूलो डर के हो भने यो असमानता कुनै दिन विस्फोटक बन्न सक्छ। उनी भन्छिन्, ‘यदि वास्तविक अर्थव्यवस्थामा रोजगारीको संकट आयो भने बलियो डलर वा स्थिर बैंकले पनि बचाउन सक्ने छैनन्।’
अहिलेसम्म भने त्यस्तो संकटको प्रमाण देखिएको छैन्। वास्तवमा, मे महिनामा अमेरिकी रोजगारदाताले १ लाख ७२ हजार नयाँ जागिर थपेका छन्। यो अनुमान गरेभन्दा धेरै राम्रो हो।
तर यो हप्ताको नयाँ तथ्याङ्कले महँगी तीन वर्षयताकै छिटो दरमा बढेको देखाएको छ। यसले अमेरिकाको सहनशक्तिको सीमा नजिकिँदै गरेको संकेत गर्छ। मे महिनामा मूल्य वृद्धि ४.२ प्रतिशत पुगेको छ, जुन अप्रिलमा ३.८ प्रतिशत थियो।
अमेरिकाको अर्थव्यवस्था अरू धेरै प्रतिस्पर्धीहरू भन्दा राम्रो होला। तर यसको मतलब यो होइन कि यसलाई केही हुँदैन। महँगो ऊर्जा, जिद्दी महँगी र बढ्दो असमानताले उसको अहिलेको फाइदालाई घटाउन सक्छ।
तैपनि अरू विकसित देशको तुलनामा अमेरिका अझै पनि बलियो देखिन्छ। लचिलो बजार, छिटो लगानी, धेरै ऊर्जा र जोखिम मोल्ने क्षमताले गर्दा नै अमेरिका अरू देशलाई समस्या पार्ने झट्काहरूमा पनि टिकिरहेको छ।
ब्रुसुएलासले भने झैं: ‘यो धेरै फोहोर लुगाहरू भएको थुप्रोमा सबैभन्दा सफा देखिने कमिज जस्तो हो।’ –बीबीसीको सहयोगमा


