ला गुआइरा, भेनेजुएला,एएफपी। शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन्।
शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ। आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ। समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ।
भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएका छन् भने ठूलो सङ्ख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन्।
पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुयलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ। जनवरीमा अमेरिकी विशेष बलले तत्कालिन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो।
लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ।
विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो। त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ।
देशको उत्तरमा रहेको काराबालेडा शहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताउनुभएको छ।
अमेरिकाले सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्न सक्ने बताएको छ। यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ।
बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन्।
संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग भन्नुभयो, “अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन्।”


