बेरूत,सिन्ह्वा। मध्यपूर्वमा जारी संकटले अरब मुलुकको अर्थतन्त्रमा एक खर्ब ९४ अर्ब अमेरिकी डलरसम्मको क्षति पुर्याउन सक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। संकटले श्रम बजारमा असमानता बढाउँदै महिलाको रोजगारीमा गम्भीर असर पार्ने राष्ट्र संघीय प्रतिवेदनमा उल्लेख छ।
‘युएन वुमन’ र ‘युनाइटेड नेसनस् इकोनोमिक एण्ड सोसियल कमिसन् फर वेष्टर्न एसिया’ले मंगलबार सार्वजनिक गरेको नीतिगत विवरणमा संकटका कारण अरब मुलुकमा ३६ लाख रोजगारी जोखिममा पर्न सक्ने र थप ४० लाख मानिस गरिबीको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ।
प्रतिवेदन अनुसार श्रम बजारमा विद्यमान संरचनागत असमानता, अनौपचारिक रोजगारीको उच्च हिस्सा तथा कमजोर आर्थिक क्षेत्रमा महिलाको बढी संलग्नताका कारण उनीहरू संकटबाट असमान रूपमा प्रभावित हुनेछन्।
इराक, जोर्डन, लेबनान, प्यालेस्टाइन र सिरियामा अल्पकालीन अवधिमा ३४ हजारदेखि ५६ हजार महिलाको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ। संकट अझ गहिरिएमा यो सङ्ख्या करिब ८० हजारसम्म पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ।
कडा वित्तीय अवस्थाका कारण शिक्षा, स्वास्थ्य र सार्वजनिक प्रशासन क्षेत्रमा महिलाको रोजगारी थप प्रभावित हुनसक्ने जनाइएको छ। यसबाट नयाँ नियुक्ति रोक्ने, तलब कटौती गर्ने तथा पारिश्रमिक भुक्तानीमा ढिलाइ हुने अवस्था आउन सक्ने प्रतिवेदनमा उल्लेख छ।
अरब राज्यका लागि संयुक्त राष्ट संघीय महिला निकायकी क्षेत्रीय निर्देशक मोएज डोरेडले आर्थिक संकटको. प्रभाव सबै वर्गमा समान रूपमा नपर्ने बताउँदै महिलाको जीविकोपार्जन सुरक्षाका लागि लक्षित कार्यक्रम आवश्यक रहेको बताइन्।
उनले पर्याप्त उपाय नअपनाए संकट विद्यमान असमानता अझ गहिरो बनाउने र महिलाको आर्थिक सशक्तीकरणमा भएका प्रगतिलाई पछाडि धकेल्न सक्ने चेतावनी दिए।
प्रतिवेदनले अनौपचारिक तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि आयस्रोतको सुरक्षा विस्तार गर्न, शिक्षा र स्वास्थ्य क्षेत्रको खर्च संरक्षण गर्न, महिला नेतृत्वका व्यवसायलाई सहयोग गर्न तथा लैङ्गिक आधारमा विभाजित श्रम बजारको निगरानी प्रणाली बलियो बनाउन सुझाव दिएको छ।


