काठमाडौँ- २०२० को दशकमा गीत सङ्कलन, सङ्गीत र गायनबाट ख्याति कमाई राजामहाराजाहरूबाट समेत प्रशंसित स्व. सरोजगोपाल वज्रचार्य, गायक तथा सङ्कलक बुद्धि परियार र गायिका बाबा राणाले ४ दशकअघि रेकर्ड गरेको गीत ‘सइँको घर काँ हो काँ’ पुन: रेकर्ड भई भिडियो र अडियोमा सार्वजनिक भएको छ। सरोजगोपाल र बुद्धि परियारको लय र शब्द सङ्कलन रहेको गीतमा मौलिक स्वर सरोजगोपाल, बुद्धि परियार र बाबा राणा रहेको थियो।
बुद्धि परियारका सुपुत्र धर्मेन्द्र सेवानसँग रेखा शाहलाई युगल गाउने सर्तमा पुन: रेकर्डिङको अनुमति दिएको केही समयपश्चात् सरोजगोपालको असामयिक निधन भएको थियो।
‘मेरी बैनी र छोरासरहका रेखा शाह र धर्मेन्द्र बाबुले यो गीत पुन: रेकर्ड गरी बजारमा ल्याउँदा म भावुक मात्रै बनिनँ, ४० वर्षअघिको समयमा समेत पुगें,’ गायिका बाबा राणाले भनिन्।
गीत सार्वजनिक गर्दै गायिका रेखा शाहले भनिन्, ‘सानै उमेरदेखि मैले निकै गुनगुनाउने गीत हो यो । सौभाग्यबस मैले मेरै आवाजमा रेकर्ड गर्न पाएँ । अब यो गीत अर्को पुस्तामा पुस्तान्तरण हुनेमा म ढुक्क छु। सरोजगोपाल भिनाजु र बाबा दिज्यूको आशीर्वाद पक्कै रहनेछ।’
बुवा र अंकलको गीतलाई आफ्नो आवाजमा पुन: रेकर्ड गर्न पाएकोमा गायक धर्मेन्द्र सेवानले अर्को एउटा गीतको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण भएको बताए । उनले भने, ‘बुवाका गीतहरू क्रमश: यसरी नै पुन: रेकर्ड गरि बजारमा ल्याउनेछु।’
नयाँ रेकर्ड गरिएको गीतमा गोपाल रसाइलीको सङ्गीत संयोजन र भानुभक्त ढकालको रेकर्डिङ रहेको छ। स्टुडियो भर्सनमा सार्वजनिक भएको भिडियोमा रेखा शाह र धर्मेन्द्र सेवानले गायक/गायिकाको रूपमा अभिनय गरेका छन्।
भिडियोलाई रूपेश थापले निर्देशन गरेका हुन् भने रेखा शाहले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन्।
भिडियो लिंक:


