काठमाडौँ: नबिल बैंक विश्वप्रसिद्ध युरोमनी अवार्ड्स फर एक्सिलेन्स अन्तर्गत तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले नेपाल्स बेस्ट बैंक, नेपाल्स बेस्ट बैंक फर ईएसजी र नेपाल्स बेस्ट बैंक फर एसएमईज् उपाधि प्राप्त गरेको हो।
बैंकका अनुसार यी अवार्डले नबिलको सुदृढ वित्तीय प्रदर्शन, डिजिटल रूपान्तरण, जिम्मेवार बैंकिङ अभ्यास, वातावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा गरेको काम तथा साना–मझौला उद्यम (एसएमई) प्रवर्द्धनमा पुर्याएको योगदानलाई मान्यता दिएका छन्।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले उक्त सम्मानले ग्राहक, कर्मचारी, शेयरधनी र साझेदारले बैंकमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गरेको बताए। उनले नवप्रवर्तन, दिगोपना र समावेशी आर्थिक विकासप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदै आगामी दिनमा पनि उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
युरोमनी अवार्ड्स फर एक्सिलेन्सलाई बैंकिङ क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डमध्ये एक मानिन्छ। यसले नवप्रवर्तन, नेतृत्व र उत्कृष्ट कार्यसम्पादन गर्ने वित्तीय संस्थाहरूलाई सम्मान गर्ने गर्दछ।
नबिल बैंकले हाल देशभरका २६४ शाखा र ३१५ एटिएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।


