काठमाडौँ: नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।
कम्पनीका अनुसार उक्त प्रमाणपत्रले एससीटीमा लागू गरिएको सूचना सुरक्षा व्यवस्थापन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रभावकारी रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ। साथै ग्राहक, सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, साझेदार संस्था र अन्य सरोकारवालाको सूचनाको गोपनीयता, अखण्डता र उपलब्धता सुनिश्चित गर्न उच्चस्तरीय सूचना सुरक्षा अभ्यास अपनाइएको प्रमाणित गरेको जनाएको छ।
यसअघि एससीटीले अन्तर्राष्ट्रिय कार्ड भुक्तानी सुरक्षासम्बन्धी पीसीआई डीएसएस संस्करण ४.०.१ तथा पीसीआई थ्रीडीएस प्रमाणपत्रसमेत प्राप्त गरिसकेको छ। नयाँ प्रमाणपत्रसँगै सूचना सुरक्षा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन र सुरक्षित डिजिटल भुक्तानी पूर्वाधारप्रतिको संस्थाको प्रतिबद्धता अझ सुदृढ भएको कम्पनीले जनाएको छ।
एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे ले यो उपलब्धिले सूचना सुरक्षाप्रतिको संस्थाको दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाएको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित, भरपर्दो र नवप्रवर्तनयुक्त भुक्तानी सेवा उपलब्ध गराउँदै नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन कम्पनी निरन्तर लागिरहने उल्लेख गरे।
हाल एससीटीले सदस्य बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र अन्य साझेदारमार्फत कार्ड स्विचिङ, कार्ड प्रशोधन, द्रुत प्रतिक्रिया संकेतमार्फत भुक्तानी, डिजिटल भुक्तानी पूर्वाधार तथा अन्य अत्याधुनिक भुक्तानी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीले सूचना सुरक्षा र सेवा गुणस्तरलाई आफ्नो प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै आएको पनि जनाएको छ।


