काठमाडौं– ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ गुरुङ बस्तीमा पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने २५ बढी घर बगाएको छ। बिहीबार राती ११ बजे गएको पहिरोमा परी २० भन्दा बढी चौपायासमेत बगाएको ८ नम्बर वडाध्यक्ष खड्गबहादुर राउतले बताए।
पहिरोमा परी मृत्यु हुनेमा एकै परिवारका चार जना रहेको राउतको भनाइ छ। ३८ वर्षीय बुबा रणबहादुर गुरुङ, २९ वर्षीया आमा शिवमाया गुरुङ र १८ महिने छोरी कविता गुरुङको शव निकालिएको छ भने १० वर्षीय छोरा दिनेश गुरुङको शव निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
बिहीबार रातीबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय उद्धारमा खटिएका छन्। थप २५ बढी घर र गोठमा क्षति पुगे पनि यकिन गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
राती करिब ११ बजेको समय बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिराले पुरिएको छ। ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका थिए।


